काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता भएको हो ।
भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ । भेटमा प्रधानमन्त्री देउवा र लुबीच नेपालमा कोभिडले पारेको असर, कोभिडपछिको आर्थिक पुनरोत्थान र कोरोना विरुद्धको भ्याक्सिनको सहयोग लगायत विषयमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौडेलले जनाएका छन्।
त्यस्तै, देउवाले नेपालको ग्रिन क्लिन विकास गर्ने उद्देश्यले हालै भएको कोप–२६ मा गरेको सम्बोधनको क्रमशः कार्यान्वयन गर्ने सिलसिलामा अमेरिकाबाट आर्थिक र प्राविधिक सहयोगका लागि आग्रह गरेका छन् । जवाफमा सहायक विदेशमन्त्री लु ले नेपाललाई अमेरिकाले गर्दै आएका त्यस्ता सहयोगका कार्यक्रमहरुलाई निरन्तर उपलब्ध गराउने आश्वास्त पारेका थिए ।



लोकपाटी न्यूज

