काठमाडौँ, ७ फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले दिवसका अवसरमा आज शुभकामना सन्देश वक्तव्य जारी गर्दै प्रजातन्त्रको लाभ आम नागरिकले प्राप्त गर्नसक्ने वातावरण सिर्जना गर्दै प्रजातन्त्रलाई थप दरिलो, जनमुखी एवम् समावेशी गराउन सबैले आफ्नो ठाउँबाट योगदान गर्न आह्वानसमेत गरेका छन् ।
सन्देशमा उनले संविधानको मर्मअनुरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सरकारले लिएको दीर्घकालीन लक्ष्य समृद्ध नेपाल, सुखी नेपालीलाई साकार पार्न समावेशी लोकतन्त्रमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
‘प्रजातन्त्रका मुलभूत मान्यताहरु कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकारजस्ता विशेषताहरुको संवद्र्धन, प्रवद्र्धन एवं विकास गर्दै समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्नु जरुरी देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।



लाेकपाटी न्यूज

