काठमाडाैं। युवा तथा खेलकूद मन्त्री महेश्वरजंग गहतराज अथकले पूर्व मन्त्रीहरुसँग राय परार्मश लिएका छन्। बिभिन्न समयमा खेलकूद मन्त्रालय सम्हालेका पूर्व मन्त्री तथा राज्यमन्त्रीहरुसँग सुझाव लिनका लागि सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा “राय परामर्श कार्यक्रम” आयोजना गरीएको थियो ।
उक्त कार्यक्रममा सहभागी पूर्व मन्त्रीहरुले मन्त्रालयबाट राम्रो संस्कारको सुरुवात भएको धारणा राखे। युवा तथा खेलकूद पुर्व सह–मन्त्री चन्द्रा चौधरीले मन्त्रालयले युवा लक्षित कार्यक्रमहरुमा विशेष जोड दिनुपर्ने बताइन्। राज्यका अन्य निकायले समेत युवा लक्षित कार्यक्रम गर्दै आएको भएपनि ती सबै कार्यक्रमहरुलाई मन्त्रालयकै मातहतमा ल्याउन उनले सुझाव दिइन्।
त्यसैगरी खेलाडी तथा खेल क्षेत्रको समग्र विकासका लागि मन्त्रालयले अत्याधिक मात्रामा बजेटको ब्यवस्थापन गर्नुपर्ने र खेलाडीहरुको जीवनस्तर उकास्ने खालका गतिविधिहरुमा जोड दिनुपर्ने चौधरीको भनाइ थियो ।
पूर्व राज्यमन्त्री गोपी अछामीले पहिलो पटक पुर्व मन्त्रीहरुसँग सुझाव संकलन कार्यक्रम आयोजना गरेर मन्त्रालयले राम्रो अभ्यासको सुरुवात गरेको बताए। जनशक्ति, पुर्वाधार र बजेटको स्थिती हेर्दा खेलकूद मन्त्रालय सधैं उत्पीडनमा परेको आभाष हुने बताउँदै अछामीले मन्त्रालयलाई आर्थिक रुपमा सवल बनाउनुपर्नेमा जोड दिए।
छलफल कार्यक्रममा बोल्दै पूर्व मन्त्री जगत बहादुर विश्वकर्माले धेरै लामो प्रयासपछि निर्माण भएको “खेलकूद विकास ऐन” कार्यान्वयन प्रक्रियामा लैजान आग्रह गरे। बाहिरी रुपमा ऐन प्रति विभिन्न खालका टिकाटिप्पणी हुने गरेको भएपनि वर्तमान खेलकूद क्षेत्रको अवस्थालाई व्यवस्थापन गर्ने सामर्थ खेल विकास ऐनले राख्ने कुरामा आफु ढुक्क रहेको विश्वकर्माले बताए।
खेल पर्यटनका हिसावले नेपाल संसारकै उत्कृष्ट देश भएको उल्लेख गर्दै विश्वकर्माले भने “नेपाल मात्र एक यस्तो देश हो, जहाँ संसारमा खेलिने सबै प्रकारका खेलहरु खेल्न सक्ने खालको भौगोलिक बनावट छ ।” खेलकूद मन्त्रालयअन्तर्गत रहेको युवा स्वरोजगार कोष विचौलीयाहरुको कमाई खाने भाँडो बनेको प्रति दुख ब्यक्त गर्दै पूर्व मन्त्री विश्वकर्माले युवा स्वरोजगारको पैसा लक्षित वर्गसम्म पुर्याउन नयाँ खालको निति बनाउनुपर्नेमा जोड दिए।
छलफल कार्यक्रममा बोल्दै युवा तथा खेलकूद मन्त्री महेश्वरजंग गहतराज अथकले सबै पक्षको सुझावका आधारमा नयाँ योजनाहरु तर्जुमा गरिने बताए। विगतमा भएका राम्रा कामको निरन्तरता र प्रभावकारी नयाँ कार्यको थालनिकालागि आफू निरन्तर छलफलमै रहेको बताउँदै मन्त्री अथकले मन्त्रालयको स्तर उठाउने कार्यमा आफू दिनरात लागिपरेको बताए।
छलफलबाट महत्वपूर्ण सुझाव संकलन भएको उल्लेख गर्दै मन्त्री अथकले भने, “तपाईहरुबाट प्राप्त महत्वपूर्ण सुझाव, सल्लाहलाई मैले मार्गनिर्देशकका रुपमा ग्रहण गर्नेछु ।”
कार्यक्रममा युवा तथा खेलकूद मन्त्रालयका निमित्त सचिव कमल प्रसाद पोखरेलले मन्त्रालयको जिम्मेवारी र हालसम्म भए गरेका गतिविधिहरुका बारेमा जानकारी दिएका थिए। त्यस क्रममा मन्त्री अथकले पूर्व मन्त्रीहरुलाई खादा ओढाएर सम्मान समेत गरेका थिए।



लोकपाटी न्यूज

