एमालेले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?

UML_Logo
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले आगामी मंसिरमा दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ। आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा राष्ट्रिय महाधिवेशन गर्न लागेको हो। महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवसहित १५ पदाधिकारीका साथै २२५ केन्द्रीय सदस्य चयन गर्नेछ।

देशभर ७ लाख २८ हजार सक्रिय सदस्य रहेको एमालेले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि तीन प्रकारबाट छान्ने छ। जसमा पदेन, निर्वाचित र मनोनीत गरी तीन प्रकारबाट छानिएका प्रतिनिधिले मात्रै महाधिवेशनमा मतदान गर्न पाउने एमाले दशौं राष्ट्रिय महाधिवेशन मल व्यवस्थापन समितिका सदस्य शेरबहादुर तामाङले जनकारी दिए।

पार्टीको भूगोल कमिटीबाट १ हजार १ सय ९६ प्रतिनिधि निर्वाचित भएर आउनेछन् भने पदेन प्रतिनिधि २६२ र यसको ५ प्रतिशत मनोनीत हुनेछन्। केन्द्रीय कार्यालय र विभागसहित ३, पार्टीका जनसंगठनहरूबाट ५-५, समग्र प्रवास कमिटीबाट २०, प्रत्येक प्रदेश कमिटीबाट मजदुर प्रतिनिधि १ र प्रत्येक जिल्लाबाट १ दलित प्रतिनिधि हुनेछन्।

पदेन प्रतिनिधिमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्यहरू, केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरू तथा केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरू रहनेछन्।

कसरी निर्वाचित हुन्छन् प्रतिनिधि ?

पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष स्थायी कमिटीको पदेन सदस्य रहने र आयोजक समेत हुने हुँदा सल्लाहकार परिषद्का अन्य पदाधिकारी सदस्यहरू मध्येबाट १५ जना महाधिवेशन प्रतिनिधि बन्ने छन्। सल्लाहकार परिषद्का अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने भए पनि उनीहरूलाई मताधिकार भने नहुने भएको छ।

प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तीमा २ महिलासहित ५ जना दरले महाधिवेशन निर्वाचित हुनेछन्। त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तीमा १ महिला सहित ३ जनाका दरले महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्। निर्वाचन क्षेत्रमा १२ सय भन्दा बढी सदस्य भए प्रत्येक ८०० मा थप १/१ जना तर हरेक दोस्रो ८०० मा महिला अनिवार्य गर्नुपर्नेछ।

यस्तै देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्यबाट कम्तीमा १ महिला सहित ३ जनाका दरले प्रतिनिधि निर्वाचित हुनेछन् भने जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित सदस्यबाट १ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् यो संख्यामा थप ५०० सम्म सदस्य भए १ जना महिला अनिवार्य र सो पछि प्रत्येक ५०० मा महिलाको एक तिहाइ हुने गरी १/१ जनाको दरले प्रतिनिधि निर्वाचित हुनेछन्।

भूगोलका प्रदेश अन्तर्गतका मजदुर पार्टी सदस्य मध्येबाट कम्तीमा ३ महिलासहित ७ जनाका दरले महाधिवेशन निर्वाचित निर्वाचित हुनेछन्। भारत, अमेरिका युरोप, एसिया प्यासिफिक, खाडी र ओसियाना प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा २ महिला सहित ५ जनाका दरले प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरेको एमालेले जनाएको छ।

मूल व्यवस्थापन समितिका सदस्य तामाङले महाधिवेशन प्रतिनिधि छान्न पार्टी केन्द्रीय कमिटीले तय गरेको मापदण्ड लागु हुने बताए। ‘त्यो मापदण्ड भनेको हरेक एक निर्वाचन क्षेत्रका १२ सय पार्टी सदस्य बराबर ५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने हो’ तामाङले भने, ‘कात्तिक २७ गते सम्बन्धित जिल्लाले सबै पार्टी सदस्यहरूलाई एकै ठाउँ वा अलग अलग भेला गराएर निर्वाचन गराउन सक्छन्। त्यसका लागि प्रत्येक संघीय निर्वाचन क्षेत्रको अलग-अलग मतदान केन्द्रको व्यवस्था गरिन्छ।

१६५ निर्वाचन क्षेत्र भएका कारण त्यसको दोब्बर संख्यामा मतदान केन्द्र बनाइन्छ।’ त्यसरी हुने मतदानमा महाधिवेशन प्रतिनिधि हुन चाहनेहरूले उम्मेदवारी दिन पाउनेछन्। ‘भेलामा संगठित सदस्यहरू मतदाता हुन पाउँछन्। त्यस क्रममा आकांक्षीहरूबीच सर्वसम्मतको प्रयास पनि हुन्छ। यदि सर्वसम्मत हुन नसके मतदानमार्फत नै प्रतिनिधि छानिन्छन्’, महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रियाबारे तामाङले जानकारी दिए।

एमाले केन्द्रीय कार्यालय सचिव समेत रहेका तामाङले पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गत निर्वाचित हुनेहरू कम्तीमा २ महिला सहित ५ जना प्रतिनिधि हुनेछन्। त्यस्तै जनवर्गीय संगठनहरुबाट २ महिलासहित ५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्। यसरी सबैतिरबाट छानिएको महाधिवेशन प्रतिनिधिको ५ प्रतिशत संख्यामा पार्टी केन्द्रीय कमिटीले मनोनीत गर्नेछ। -रातोपाटीबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्