बुद्धिजीवी भेलामा पोख्रेलको उद्घोष : ‘संसदबाट समाजवाद आउँदैन, प्रणाली नै फेर्नुपर्छ’

लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लिलामणि पोखरेलले संसदबाट वैज्ञानिक समाजवाद स्थापना हुन नसक्ने बताएका छन्।

आइतबार नेपाल बुद्धिजीवी संगठनको बागमती प्रदेश भेलामा बोल्दै नेता पोखरेलले संसदीय व्यवस्थाको बिकल्प खोज्न जरुरी रहेको बताए। उनले भने, ‘‘संसदबाट समाजवाद आएको इतिहास मैले आजसम्म पढेको छैन। यही बुर्जुवा प्रणालीबाट समाजवाद आउँदैन। यो प्रणालीमा जोसँग पैसा छ, उसले जित्छ, जनताका असल प्रतिनिधिहरू निर्वाचित हुन कठिन हुन्छ। यसरी समाजवाद आउँदैन, यो प्रणाली फेर्नुपर्छ।’’

कार्यक्रममा माओवादी केन्द्रका नेता एवं बुद्धिजीवी संगठनका इञ्चार्ज दिनानाथ शर्माले कम्युनिस्ट आन्दोलनको रक्षा र विकासका निम्ति नयाँ पुस्ता आउनुपर्ने बताए। उनले भने, ‘‘हाम्रो पुस्ताले कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान गरेको छ। सधैं यही पुस्ताले मात्रै क्रान्तिको कार्यभार बोक्न सक्दैन, त्यसका लागि नयाँ पुस्ता आउनुपर्छ।’’

भेलामा माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठ, राष्ट्रिय सभाका सांसद रामनारायण बिडारी, नेकपा (माओवादी केन्द्र) का विशेष प्रदेश समितिका अध्यक्ष लेखनाथ न्यौपाने, नेपाल बुद्धिजीवी संगठनका संयोजक कृष्ण केसी, सहसंयोजक नीलकण्ठ तिवारी लगायतले शुभकामना मन्तव्य दिएका थिए।

भेलाले भरत बस्यालको संयोजकत्वमा ५१ सदस्यीय प्रदेश सम्मेलन आयोजक समिति चयन गरेको छ। समितिको सहसंयोजकमा कृष्ण कोपिला चयन गरिएको छ। समितिले मंसीर अन्तिम सातासम्म प्रदेश सम्मेलन सम्पन्न गर्नेछ।

नेपाल बुद्धिजीवी संगठनले आगामी पुष ८ र ९ गते राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ। राष्ट्रिय सम्मेलनअघि स्थानीय तह, जिल्ला र प्रदेशका सम्मेलन सम्पन्न गरिने केन्द्रीय संयोजक केसीले जानकारी दिए।