रौतहटमा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप

लोकपाटी न्यूज

काठमाडाैं। रौतहटको सदरमुकाम गौरमा प्रहरी र सिके राउत नेतृत्वकाे जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन् ।

पूर्व निर्धारित कार्यक्रमअनुसार जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा गएका कार्यकर्ताले गौरस्थित बिपी चौकमा मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको हाे। शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा आधा दर्जन कार्यकर्ता घाइते भएको अध्यक्ष सानुले बताए ।

उता जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले नारा जुलुस लगाउँदै आएका जनमतका कार्यकर्ताले बिपी चौकमा पुगेर अराजक गतिविधि गर्न खोजेपछि सामान्य बल प्रयोग गरेको बताएका छन्। झडपमा केही प्रदर्शनकारीका साथै केही प्रहरी समेत घाइते भएको उनको भनाइ छ ।