पशुपतिकाे गीत बन्द गर्नु पञ्चायतकाे झल्काे : कांग्रेस

nabindra raj joshi
लाेकपाटी न्यूज

काठमाडौं, ५ फागुन । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध लोक गायक पशुपति शर्माले गीत बाहिर ल्याउँदा सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले भने, ‘हामीलाई त अहिले पञ्चायतकालिन शासनजस्तो झझल्को लागेको छ । सरकारले नागरिक अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।’

जोशीले वर्तमान सरकार अनुदारवादी र अलोकतान्त्रिक बनेको पनि आरोप लगाए । उनले भने, ‘सरकारले भिसीलाई विमानस्थलबाट उठाएर ल्याई बालुवाटारमा किन राखियो ? मलाई प्रश्न सोध्न मन लागेको छ । अहिले सरकारले नागरिक स्वतन्त्रताको खिल्ली उडाएको छ ।’

सरकार अहिले लोकतान्त्रिक पद्धति र संविधान विपरित चलिरहेको उनको भनाइ छ । उनले भने, ‘भ्रष्टाचारको विरुद्धमा गीत लेख्दा गीत नै बन्द भयो । यो सरकारको गलत कदम हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको रोष्ट्रममा पेश गरेको तथ्यांक नै मिथ्यांक रहेको जोशीको आरोप छ । उनले भने, ‘तथ्यांकलाई प्ले गर्न सकिन्छ, तर प्रधानमन्त्रीले तथ्यांक नभइकन मिथ्यांक पेश गर्नुभयो । उहाँले तथ्यांक दिने निकायहरुलाई मिथ्यांक दिन प्रेरित गर्नुभएको होला ।’

जोशीले देशको सबै आर्थिक सुचांकहरु नकारात्मक रहेको बताए । उनले भने, ‘अहिले व्यापार घाटा बढेको छ । महंगी बढेको छ । विदेशी लगानी घटेको छ । तर, प्रधानमन्त्रीले हिजोको भन्दा आज धेरै प्रगति भयो भन्नुभएको छ । म भन्छु, हिजोभन्दा आज प्रगति भएकै हो तर, त्यो भ्रष्टाचारको प्रगति हो । हिजो करोडको भ्रष्टाचार हुन्थ्यो, अहिले अरबौंको भ्रष्टाचार भएको छ ।’

सुन काण्ड, वाईडबडी काण्डलगायत भ्रष्टाचार काण्डमा दोषीलाई कारबाही नभएकोमा उनले सरकारविरुद्ध आक्रोश व्यक्त गरे । उनले भने, ‘सुन काण्डमा सरकारले किन परीणाम ल्याउन सकेन ? प्रधानमन्त्रीले डा. गोविन्द केसीको विषयमा  संसदीय सर्वोच्चताको खिल्ली उडाउनुभयो ।’

सरकारले हरेक कुरामा तामझाम देखाएको तर परीणाम केहीमा पनि दिन नसकेको उनको आरोप छ । उनले भने, ‘ठूलो कुरा गरेर हुँदैन, काम गर्नुपर्छ । विकास निर्माणका काम गर्नुपर्छ । पानीजहाजको सपना देख्नु गलत होइन । तर, तामझाम गर्नुहुँदैन् ।’ उनले मुलुक अहिले रसातालमा रहेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्