शिक्षामन्त्री र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

लोकपाटी न्यूज

काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार मन्त्रालयमा भएको भेटवार्तामा विद्यालय शैक्षिक एवम् प्राविधिक शिक्षा सुधारको विषयमा छलफल भएको हो ।

भेटवार्ताको क्रममा मन्त्री पौडेलले द्विपक्षीय सम्बन्ध सदा उत्कृष्ट र सुमधुर रहँदै आएकोले युरोपियन युनियबाट नेपालमा विकासका विविध क्षेत्रमा निरन्तर सहयोग हुँदै आएको बताए। साथै उनले थप सहयोगका लागि आग्रह पनि गरे।

संवैधानिक र कानुनी प्रबन्ध, नेपाल पक्ष भई गरिएका सन्धि, सम्झौता, प्रतिबद्धता र तर्जुमा भएका योजनाका लक्ष्य प्राप्तिका लागि संघीयताको मर्मअनुरुप हुने गरी नयाँ शिक्षा कानुन निर्माण र विद्यमान संस्थागत पुनःसंरचनाका कार्यमा मन्त्रालय लागेको मन्त्री पौडेलले जानकारी गराए।

वैदेशिक सहयोग परिचालन गर्ने सम्बन्धमा संयुक्त लगानी कार्यढाँचा विकास गरी साझेदारसँग सहकार्य गरि अघि बढ्न चाहेको मन्त्रीको भनाइ थियो । ‘शिक्षामा समता र समावेशितासहितको अनिवार्य तथा निःशुल्क शिक्षाको पहुँच र गुणस्तर सुनिश्चिता प्रदान र प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गर्नमा युरोपियन युनियन सरकारलाई थप सहयोग गर्न आग्रह गर्दछु’ मन्त्री पौडेल भने।

राजदूत नोना डिप्रेजले शैक्षिक एवम् प्राविधिक शिक्षा सुधारमा आफूहरुले थप काम गर्न चाहेको बताइन्। शिक्षा क्षेत्रसँगै खाद्यन्न सहयोगका लागि नेपालसँग सहकार्य गर्न आफूहरु लालायित भएको उनकाे भनाइ छ । उनले भनिन्,‘महत्वपूर्ण कुरा शिक्षामा समावेशीता र समता हुनुपर्छ, विद्यार्थी विद्यालय बाहिर रहँदा देशलाई घाटा हुन्छ ।’

कर्णाली तथा सुदूरपश्चिमका विद्यालयहरु अवलोकन गरेको बताउँदै राजदूतले शिक्षा मन्त्रालयले विद्यालयको भौतिक एवम् शैक्षिक सुधारमा ध्यान दिनुपर्ने पनि बताइन्। युरोपियन युनियनले नेपालको शिक्षा क्षेत्रमा वर्षेनी सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्