जनकपुरधाम। प्रदेश २ को सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुई अध्यादेश ल्याउने तयारी गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दुईवटा अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरीमा स्थापना गर्नेसम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार संविधानको धारा २०२ बमोजिम प्रदेशसभा सञ्चालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरिएको छ।
प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुल्नेछ। जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी सञ्चालनमा ल्याइसकेको प्रदेश सरकारले राजविराजमा कृषि विश्वविद्यालय र वीरगन्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको हो।
यसैगरी, प्रदेश सरकारले ‘ग्रिन सिटी, क्लिन सिटी’अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगन्जमा सरसफाइ, बिजुली बत्ती तथा वृक्षरोपण कार्य सञ्चालन गर्ने निर्णय गरिएको छ। प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कार्यको स्थलगत निरीक्षण गर्ने र ढिलासुस्ती एवं गुणस्तरहीन काम गरेको पाइए त्यस्ता ठेकेदार कम्पनीको बैंक ग्यारेन्टीजफतदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरिएको छ।



लोकपाटी न्यूज

