काठमाडौं, ५ फागुन । माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ मा प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र सोधिने भएका छन् । यस वर्षको एसईईमा प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र सोधिन भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले चैत १० देखि देशभर सञ्चालन हुने परीक्षाका लागि प्रश्नपत्र छपाइ थालेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जनक शिक्षा सामग्री केन्द्रको भक्तपुरस्थित सेक्युरिटी प्रेसमा सातवटै प्रदेशका लागि आवश्यक प्रश्नपत्र छपाइ थालिएको बताए ।
‘प्रदेशमा सेक्युरिटी प्रेस छैन,’ उनले भने, ‘प्रश्नपत्र यहीँ छपाएर पठाउन लागेका हौं ।’ एसईईका लागि एकै स्तरका तर फरक–फरक सेटका प्रश्नपत्र निर्माण गरिएको छ ।
संघीय र प्रदेश सरकारको समन्वयमा एसईई परीक्षा सञ्चालन हुन लागेको हो । शिक्षा ऐनको आठौं संशोधनले एसईई परीक्षाको जिम्मेवारी प्रदेश सरकारलाई दिएको छ। यसअघि परीक्षा नियन्त्रण कार्यालयले एसएलसी र एसईई परीक्षा सञ्चालन गर्दै आएका थिए ।
कार्यालय बोर्डमा गाभिएपछि प्रदेश, बोर्डको प्रदेश कार्यालय र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले परीक्षा चलाउन लागेका हुन्। प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत उत्तरपुस्तिका छपाइ, परीक्षा केन्द्र सञ्चालन, व्यवस्थापन र कापी परीक्षणको काम हुनेछ ।
चैत २१ गतेसम्म हुने परीक्षामा नियमिततर्फ ५ लाखभन्दा बढी र आंशिकतर्फ ५० हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।



लाेकपाटी न्यूज

