काठमाडौं। बर्दिबासको आधारशिला सामूहिक आवास गृहमा तीन दिन लामो मार्क्सवादी स्कुल सम्पन्न भएको छ। दशैंको पूर्वसन्ध्यामा आधारशिला आवास गृहमा तीन दिन लामो भौतिक स्कुल सम्पन्न भएको हो।
आधारशिला सामूहिक आवास गृहको आयोजना र मार्क्सवादी ज्ञान केन्द्रको संयोजनमा सम्पन्न उक्त स्कुलमा ६० जना सहभागीहरूले मार्क्सवादी स्कुल लिएका थिए। स्कुलमा आधारशिला आवास गृहका सबै सदस्य र प्रदेश नं.–२ का कम्युनिस्ट नेता–कार्यकर्ता सहभागी थिए।
असोज २५ गतदेखि २७ गतेसम्म सञ्चालित उक्त स्कुलको नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं प्रदेश नं.–२ का इञ्चार्ज गणेश साहले उद्घाटन गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै इञ्चार्ज साहले कम्युनिस्ट आन्दोलनमा मार्क्सवादी विचार र दृष्टिकोणको अध्ययन र त्यसको जीवनमा कार्यान्वयनको पक्ष कमजोर हुँदै गएकाले स्कुलको आयोजना गरिएको बताएका थिए।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पार्टी स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेलले दृष्टिकोण र सिद्धान्त बिनाको राजनीतिले ठोस उपलब्धी हासिल हुन नसक्नेमा जोड दिँदै कम्युनिस्ट नेता/कार्यकर्ताका लागि मार्क्सवादी स्कुल जीवनपद्धति हुनुपर्ने बताए।
उद्घाटन सत्रमा नेताहरू विश्वनाथ साह, प्रह्लाद बुढाथोकी, जोगकुमार बर्बरिया, प्रकाश पोखरेल, राजु कार्की, दिपबहादुर योञ्जन लगायतले कम्युनिस्ट आन्दोलनमा वैचारिक/राजनीतिक अध्ययन र प्रशिक्षणलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका थिए। कार्यक्रममा मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले विचारले खारिएका नेता/कार्यकर्ताको बलमा मात्र समाजवादको लक्ष्य प्राप्त हुनेमा जोड दिँदै विचारबिनाको भौतिक शक्ति भीडतन्त्रमा रूपान्तरण हुने बताए।

तीन दिन लामो कक्षामा सहजकर्ता आर.के. ढुंगानाले नेतृत्व विकास र डिजिटलाइजेशन, रामबहादुर खड्काले केही राजनीतिक तथा दार्शनिक शब्दावलीहरू, मनहरि तिमिल्सिनाले दर्शनको परिचय, द्वन्द्वात्मक भौतिकवाद, कम्युनिस्ट सिद्धान्त, पार्टी र प्रणाली, मणिरत्न श्रेष्ठले विश्वप्रसिद्ध कम्युनिस्ट क्रान्तिकारीहरूको जीवनी, डिपी ढकालले राजनीतिक अर्थशास्त्रको आधारभूत परिचय, कार्लविक्रम थापाले ऐतिहासिक भौतिकवाद, भुपनारायण अधिकारीले विज्ञान र मार्क्सवाद, पदम जोशीले कम्युनिस्ट जीवनपद्धति, बिमल सुवेदीले मार्क्सवाद र कलाको सम्बन्ध र योगगुरू विजय सुवेदीले योग र ध्यानसम्बन्धी कक्षाको सहजीकरण गरेका थिए।
कक्षाको समापन सत्रमा बोल्दै माओवादी केन्द्रका नेता एवं अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले वैचारिक कक्षाहरूले नेता–कार्यकर्ताको वैचारिक स्तर उकास्नुका साथै अध्ययन संस्कृतिको विकास हुने बताए। नेता श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलनमा कार्यदिशाको विकास महत्वपूर्ण विषय भएकाले यसतर्फ गहन अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए।

‘‘यतिबेला मार्क्सवादको अध्ययन र कार्यदिशाको विकासको पक्ष ओझेलमा परेको छ। यहाँ प्रशिक्षक मात्र होइन, प्रशिक्षार्थी पाउनसमेत मुस्किल हुने अवस्था छ’’ नेता श्रेष्ठले भने, ‘‘यस्तो परिस्थितिमा तपाईहरूले जुन कक्षा सञ्चालन गर्नुभयो, यो आफैमा महत्वपूर्ण छ। यसले प्रदेश नं.–२ मा मात्र नभएर देशव्यापी रूपमा सकारात्मक सन्देश दिनेछ।’’
तीन दिन लामो कक्षाको अन्तिम दिन सहभागीहरूले आ–आफ्नो अनुभूति मन्तव्य राखेका थिए। अनुभूतिका क्रममा सहभागीहरूले कक्षामा केही नयाँ विषयको अध्ययन गर्ने अवसर पाएको बताउँदै यस्ता कार्यक्रमहरू कम्युनिस्ट पार्टीहरूकै आयोजनामा नियमित रूपमा सञ्चालन हुनुपर्ने बताएका थिए।








लोकपाटी न्यूज

