चितवन । भरतपुर महानगरपालिकामा शारदानगर खानेपानी आयोजना अन्तर्गत ओभरहेड ट्याङ्की शिलान्यास गरिएको छ ।महानगरपालिकाको १७, १९ र २० वडालाई समेट्ने गरी ५० करोड लगानीमा सम्पन्न हुने आयोजनाको बुधबार भरतपुर महानगरपालिका १९ स्थित मिलडाँडामा महानगर प्रमुख रेनु दाहालले शिलन्यास गरेकी हुन् ।
सो अवसरमा बोल्दै प्रमुख दाहालले शारदानगर खानेपानी आयोजना भरतपुरको गौरवको आयोजना भएको बताइन्। उनले साे याेजना समयमै सम्पन्न गरेर नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्न उपभोक्ता समितिलाई आग्रह समेत गरिन् ।
उनले भरतपुर महानगरपालिकाले २९ वटै वडामा महानगरकै लगानीमा साना ठूला आयोजनाहरू निर्माण गरिएको जनाकारी दिँदै बाँकी निर्माणाधिन आयोजनाहरु छिट्टै सम्पन्न हुने बताइन् । प्रमुख दाहालले महानगरपालिका भित्र खानेपानीका पूर्वाधार र सरसफाईको क्षेत्रमा करिब ३ अर्ब बराबरको लगानी भइरहेको बताउँदै यी आयोजनाहरू सम्पन्न भैसक्दा भरतपुर महानगरपालिकाको सबै क्षेत्रमा शुद्ध पिउने पानीको पहुँच पुग्ने दावी समेत गरिन् ।
संविधानले शुद्ध पिउने पानीलाई नागरिकको आधारभूत अधिकारका रूपमा लिएकाले महानगरले पनि हाल भरतपुर खानेपानी व्यवस्थापन बोर्ड, उपभोक्ता समितिमार्फत आयोजनाबाट ८१ प्रतिशत नागरिकलाई शुद्ध पिउने पानीको पहुँच पुर्याएको र निर्माणाधिन आयोजनाहरू सम्पन्न हुँदा भरतपुरमा पिउने पानीको शत प्रतिशत पहुँच स्थापित हुने उनले बताइन्।
सो अवसरमा दाहालले भरतपुर महानगरपालिकाले कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि गरि दुधमा प्रतिलिटर तीन रुपैयाँ नगद अनुदानदेखि यान्त्रीकरण र आधुनिकीकरणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताइन् । उनले पूर्वाधारको क्षेत्रमा भरतपुर महानगरपालिकाले छलाङ मारेको भन्दै आफूहरु शिक्षा स्वास्थ्य सुशासन साथै महानगरको समग्र विकासमा केन्द्रित भएको बताइन्।
भरतपुर महानगरमा यस आयोजना संचालनमा आएसँगै १९ हजार घरधुरी लाभान्वित हुनेछन् । ३ बोरिङ, ३ ओभरहेड ट्यांकी र २७४ किलोमिटर पाइपलाईन विस्तार हुनेछ । उक्त याेजना २ वर्षमा सम्पन्न गर्ने गरी शर्मा एण्ड कम्पनीले ठेक्का सम्झौता गरी निर्माण कार्य शुरू गरेको छ ।



लोकपाटी न्यूज

