सेती नदीमा फसे ६० जना, उद्धारमा कठिनाइ

लोकपाटी न्यूज

काठमाडाैं । अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । जिल्लाको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा बाढीका कारण करीब ६० जना फसेका हुन् ।

सिगास गाउँपालिका–५ नम्बरका वडाध्यक्ष रामबहादुर धामीले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको जानकारी दिए । उनका अनुसार बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बगाउँदा उद्धारमा कठिनाइ भइरहेको छ ।

सेतीको बाढीमा फसेका स्थानीयहरुको उद्धार गर्न प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गरिरहेको बताउँदै वडाध्यक्ष धामीले प्रतिकूल मौसमका कारण थप समस्या भइरहेको बताए ।

उनका अनुसार ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएका छन् । उनीहरुमध्ये नदीले कटान गरिरहेको थाहा पाएकाहरु राति नै त्यहाँबाट भाग्न सफल भएका छन् । उनीहरुलाई स्थानीय शारदा माध्यमिक विद्यालयमा राखिएको वडाध्यक्ष धामीले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्