दशैंमा खाद्य मिसावटबाट कसरी जोगिने ?

लोकपाटी न्यूज

काठमाडौं। मूलतः पारिवारिक मिलनको चाड हो दशैं। तर, यसको आयाम यत्तिमै सीमित छैन। खासगरी, आर्थिक दृष्टिकोणबाट हेर्दा दशैंको महत्त्व र प्रभाव विशाल छ। घटस्थापना लागेसँगै दशैंको चहलपहल सुरु भएको छ। यतिखेर बजारमा दशैंका लागि किनमेल गर्नेको घुइँचो छ। खासगरी लत्ताकपडा, मासुका लागि खसी बोका र च्याङ्ग्रा तथा अन्य खाद्यवस्तु किन्नेको भीडले दशैं बजारको रौनक थपेको छ।

दशैंलाई मिठो मसिनो खाने पर्वको रूपमा लिइन्छ। पाहुनालाई निम्त्याएर होस् वा पाहुना लागेर होस्, मिठो मसिनो परिकार खाइन्छ। भान्सामा थरीथरीका परिकार पाक्छ। दिनमै पटक-पटक खाइन्छ। सामान्य अवस्थामा भन्दा धेरै खानेकुरा हामी दशैंमा खपत गर्छौं। अधिकांश खानेकुरा हामी बजारबाट खरिद गर्छौं, जसको शुद्धताप्रति ढुक्क हुन सकिँदैन।

कतिपय खाद्य पदार्थ मिसावटयुक्त हुन्छ। यसरी मिसावट भएको खानेकुराको गुणस्तरीयता कम हुने मात्र होइन, हानिकारक पनि हुन्छ। खासगरी अखाद्य तत्व मिश्रण गरिएको खानेकुराले शरीरमा विभिन्न किसिमको बिकार पैदा गर्छ। बजारबाट किनिएका खाद्यवस्तुमा विभिन्न प्रकारको मिसावट गरिएको हुन सक्छ। आफूले खरिद गरेको वस्तुमा मिसावट भए, नभएको पत्ता कसरी लगाउने ? यसका केही उपायहरू छन्।

पौष्टिक पदार्थको स्रोतः हामी स्वास्थ्य जीवनको लागि खानेकुरा सेवन गर्छौ। हाम्रो खानामा प्रोटिन, बोसो, कार्बोहाइड्रेट, भिटामिन, खनिज, लवण आदि सामेल हुनुपर्छ। यी सबैको सन्तुलनले नै शरीर स्वास्थ्य हुने हो। यद्यपि अहिले खानेकुरामा अनेकौं बस्तुको मिसावट हुन्छ। त्यसले गर्दा खानेकुराबाट जे प्राप्त गर्नुपर्ने हो, त्यो त प्राप्त हुँदैन नै। बरु, त्यसले शरीरमा प्रतिकुल असर पुग्छ।

खानेकुरामा मिसावटः व्यापारीले बढी मुनाफा आर्जन गर्ने हेतुले खानेकुरामा विभिन्न किसिमका अखाद्य तत्व मिसाउने गर्छन्। यस्तो मिसावट हामीले दैनिक प्रयोग गर्ने खाद्यपदार्थमा हुन्छ। जस्तो कि, घिउ, दूध, दही, चामल, दाल, तेल, मसला, मिठाई।

स्वास्थ्यमा असरः खानेकुराको सोझो सम्बन्ध हाम्रो स्वास्थ्यसँग हुन्छ। त्यसैले हामी जे खान्छौ, त्यसको असर शरीरले झेल्नुपर्छ। यस हिसाबले अखाद्य पदार्थको सेवनले शरीरमा बिकार बढाउँछ। त्यसले रगत अशुद्ध बनाउँछ। पाचन यन्त्रमा असर गर्छ। मिर्गौला, कलेजो जस्ता भित्री अंगको कार्यक्षमता कमजोर बनाउन सक्छ। फलतः हाम्रो शरीरमा रोग पैदा हुन्छ।

कसरी जोगिने ?

खाद्यपदार्थ खरिद गर्दा त्यसको गुणस्तरमा ध्यान दिनुपर्छ। सामान्यतः चामल, गेडागुडीमा मिसावट छ र छैन भन्ने कुरा सहजै जाँच्न सकिन्छ। त्यस्ता खानेकुरामा ढुंगा लगायत मिसाइएको हुन्छ। जथाभावी तेल, घिउ खरिद गर्नु हुँदैन। आफूले प्रयोग गरिरहेको ब्रान्ड वा कम्पनीको खाद्य वस्तु खरिद गर्नुपर्छ, जसको गुणस्तरमा आफू ढुक्क हुन सकिन्छ। त्यस्तै कतिपय खानेकुरामा मिसावट भएको जाँच गर्ने विधि छ। दूध, तेल, बेसार आदिमा भएको मिसावटबारे घरमै जाँच गर्न सकिन्छ।

बेसारः हरेक छाकमा प्रयोग हुने बेसार शुद्ध हुन्छ भन्ने छैन। बजारबाट खरिद गरेर प्रयोग गरिने बेसारमा मेटानिल येलो नामक रसायन मिसाइन्छ। जबकि यो क्यान्सर जस्तो भयानक रोगको कारण समेत बन्न सक्छ। बेसार पाउडरमा केही थोपा हाइड्रोक्लोरिक एसिड र उत्तिनै थोपा पानी हालेर जाँच्नुपर्छ। यदि बेसार गुलाबी वा बैजनी रंगको भयो भने, त्यो मिसावट भएको हुनसक्छ।

दूधः दूध वा अन्य दूधजन्य उत्पादनमा मिसावटको एकदमै सम्भावना हुन्छ। सामान्यतः दूधमा पानी मिश्रण गरिन्छ। यदि पानी शुद्ध छ भने त त्यो जटिल समस्या भएन। यदि पानीको ठाउँमा यूरिया, रंग वा वाशिङ पाउडर मिसाइयो भने त्यो स्वास्थ्यका लागि घातक हुनसक्छ।

सामान्य विधि अनुसार दूधको केही थोपालाई सफा वा चिल्लो स्थानमा चुहाउनुपर्छ। त्यो थोपा बिस्तारै चुहियो र सफा दाग रह्यो भने, दूध शुद्ध हुन्छ। दूधमा पानी मिसाइएको छ, छैन भनेर जाँच्ने माध्यम हो ल्याक्टोमिटर। यसको रिडिङ २८ देखि ३४ हुनुपर्छ। यदि यो रिडिङ २८ भन्दा कम आयो भने त्यसमा पानी मिसिएको हुनसक्छ।

त्यसो त ल्याक्टोमिटरमा रिडिङ बढाउनका लागि पनि दूधमा यूरिया, चिनी, वाशिङ पाउडर मिसाउने गरिएको छ। यसको जाँच दूधमा आयोडिन मिसाएर गर्नुपर्छ। यदि दूधको रंग निलो भयो भने त्यसको अर्थ हो, दूधमा स्टार्च मिसाएको छ। दूध जति नै अल्कोहल मिसाउँदा त्यो फाट्यो भने दूधमा मिसावट भएको बुझिन्छ।

घिउ वा मख्खनः घिउमा वनस्पति घिउ मिसाउने सम्भावना हुन्छ, जसले स्वास्थ्य सम्बन्धी बिकारको जन्म दिन्छ। घिउमा मिसावट जाँच्नका लागि १० सिसी हाइड्रक्लोरिक अम्ल र एक चम्चा चिनी मिसाउनुपर्छ। यस मिश्रणमा १० सिसी घिउ मिसाउनुपर्छ। अब उक्त मिश्रणलाई राम्ररी हल्लाउने। यदि मिश्रणको रंग रातो भयो भने घिउमा मिसावट हुन्छ। रंग बद्लिएन भने घिउ एकदम शुद्ध छ।

धूलो खुर्सानीः दैनिक भान्सामा बजारमा पाइने रातो धूलो खुर्सानी खरिद गर्छौं। यस्तो खुर्सानीमा मिसावटको अधिक सम्भावना हुन्छ। खासगरी रातो खुर्सानीको धुलोमा इँटाको धुलो मिसाउने गरिन्छ। साथै अन्य कृत्रिम रंग मिश्रण गरेर त्यसलाई रातो बनाउने गरिन्छ। एउटा कचौरामा पानी राख्ने। त्यसमा खुर्सानीको धुलो हाल्ने। यदि पानीमा त्यो खुर्सानीको पाउडर तैरियो भने, शुद्ध हो। डुब्यो भने त्यसमा मिसावट भएको हुनसक्छ।

स्याउः रातो वा हेर्दै रहरलाग्दो, चम्किलो स्याउमा मोम लगाइएको हुन्छ। यसलाई जाँच गर्नका लागि स्याउलाई धारिलो चक्कुले खुर्किनुपर्छ। त्यसबाट मोम निस्कन सक्छ।

हरियो मटरः हरियो मटरको दानालाई अत्यधिक हरियो देखाउनका लागि त्यसमा मेलाकाइट ग्रिन मिलाइन्छ। यो स्वास्थ्यका लागि हानिकारक हुन्छ। यसको पहिचानको लागि केही दाना पानीमा राख्नुपर्छ। यदि त्यसले रंग छाड्यो भने, मिसावट भएको बुझिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्