किन खानुहुँदैन पाेलेकाे मासु ?

लोकपाटी न्यूज

दसैं सुरु भएसँगै नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग हुने गर्दछ। चिकित्सकले भने रातो मासु पोलेर, भुटेर अधिक बोसो भएको प्रयोग नगर्न सुझाव दिएका छन्।

यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्ने उनीहरूको भनाइ छ। यसले मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचापसँगै क्यान्सर हुने जोखिम बढ्ने उनीहरूले बताएका छन्। चितवन मेडिकल कलेज (सिएमसी) का डिएम इण्डो क्राइनोलोजिष्ट डा सौरभ खतिवडा बोसो बढी भएको मासु खाँदा मोटोपना बढ्ने बताउँछन्। मासुसँगै खाद्य परिकार धेरै खाइने हुँदा यसले शरीरमा चिनीको मात्रा बढाउने उनको भनाइ छ।

उनले भने, ‘खाना खाएपछि चार घण्टामा सामान्य अवस्थामा आउनु पर्दछ। बोसोसँगको खानाले १२ घण्टासम्म चिनीको मात्रा बढाइरहन्छ।’ राति बोसोसहितको खाना खाँदा बिहानसम्म यसको प्रभाव रहिरहने खतिवडाको भनाइ छ। बोसो बढी भएको मासु खाँदा एलडिएल कोल्डस्ट्रोर, ट्राइग्लिसिराइडको मात्रा बढ्ने उनले बताए।

खतिवडाले भने, ‘पोलेको, भुटेको र अधिक बोसो भएको मासु स्वास्थ्यका लागि हानिकारक छ।’ बोसोरहित मासु कम खान उनको सुझाव छ। खानपिनमा ध्यान नदिँदा धेरै मानिस दसैंका समयमा अस्पतालमा पुग्ने गरेको भरतपुर अस्पतालका अध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारी बताउँछन्। खानपिनमा सामान्य ध्यान नदिँदा दसैंका समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने उनले जानकारी दिए।

एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढवा दिनेबाहेक अन्य केही नपाइने जनाउँदै डा अधिकारीले भने, ‘बोसो नभएको ताजा मासु थोरै थोरै गरेर खान सकिन्छ।’ नेपालीले चाडपर्वका अवसरमा दसैँमा प्रोटिनयुक्त र तिहारमा काबहाइड्रेडयुक्त खानाका साथै चिल्लो र चिसो पेयपदार्थ अत्यधिक प्रयोग गर्ने गरेको पाइन्छ। उनले चाडपर्वमा बाहिर हिँडडुल धेरै गर्ने र खानपानमा ध्यान नदिने प्रचलन बढ्दै गएको जनाउँदै भने, ‘नुन, चिल्लो, चिसो, गुलियो बढी खाने त्यसमा पनि मदिरा र चुरोट मिसाउँदा झनै समस्या हुने गरेको छ।’

कोरोना संक्रमण केही न्यून भएको अवस्थामा मानिसको बढी हिँडडुलले सरुवा रोगको प्रकोप वृद्धि हुने अधिकारीले बताए। उनले भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र समय समयमा हात धुन सुझाव दिए। उनले भने, ‘टाढाटाढाबाट जम्मा भएका परिवारबीच पनि दूरी कायम गर्नुपर्छ।’ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अंकोलोजी विभागका चिकित्सक डा गुरुशरण साहले रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउने बताए।

उनले दसैंमा मासु खाँदै नखाने भनी रोक्न नसकिने बताउँदै भने, ‘बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछाको मासु खाने गर्नुपर्छ।’ बोसो भएको मासुलाई आगोमा पकाएर खाँदा त्यसबाट उत्पन्न हुने प्रतिक्रियाबाट आन्द्राको क्यान्सर हुने जोखिम रहेको साहको भनाइ छ। धुवाँसँग मासुलाई मिसाएर प्रशोधन गरिँदा रासायनिक प्रक्रिया भई क्यान्सर उत्पन्न गराउन सघाउने उनको भनाइ छ। मानिसले प्रतिदिन ७० ग्रामभन्दा बढी मासु खान नहुने भन्दै उनले मासुको अत्यधिक सेवनले आन्द्राको क्यान्सर हुने सम्भावना बढाउने बताए।

मदिरा र मासु धेरै सेवन गर्ने व्यक्तिमा समेत आन्द्राको जोखिम बढी भएको उनले बताए। क्यान्सरका बिरामीले खसीको मासु एकै पटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान साहको सुझाव छ। चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा शंकर लौडारी रातो मासुको अत्यधिक प्रयोगले संवेदनशील अंग मुटुमा असर पार्ने जोखिम उच्च हुने बताउँछन्।

उनले भने, ‘यसले उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ।’ उनले एक छाकमा तीन, चार टुक्रा मात्रै मासु प्रयोग गर्न सल्लाह दिए। उनले भने, ‘सकेसम्म सेतो मासु खानुपर्छ। यसले स्वास्थ्यका लागि फाइदा गर्छ।’ खानको साथमा बजारमा पाइने पेयपदार्थको सेवन नगर्न सल्लाह दिँदै उनले पानीलाई प्राथमिकता दिन, हरियो तरकारीलाई खानामा समावेश गर्न र मासुको मात्र भर नपर्न आग्रह गरे।

मासुको धेरै प्रयोगले मुटुमा अतिरिक्त बोसो जम्मा हुँदा मुटुको रक्तनलीमा समस्या हुने जनाउँदै उनले यसले अन्य रोगलाई पनि बढवा दिने बताए। उनले भने, ‘मासु पकाउँदा तेल र मसलाको प्रयोग कम गर्नु पर्नुपर्छ ।  खसीको मासुमा कोलेस्ट्रोल बढी हुने भएकाले सकेसम्म मासु उमालेर खानुपर्छ।’ -रासस/नारायण अधिकारी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्