काठमाडौं । नेपालका किसानहरुले अन्नबाली बाँदरले खाने सास्ती भोग्दै आएका छन् । बाँदर समाउनका लागि भारतको उत्तरप्रदेशबाट झिकाइएका पेशेवर शिकारीलाई खोटाङमा स्वागत गरिएको छ ।
अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेको बाँदरलाई समात्नका लागि भारतको खुसीनगरबाट आएका ९ जना पेशेवर शिकारीलाई शुक्रबार दिक्तेलमा स्वागत गरिएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
किसानको खेतबारीको अन्नबाली सखाप पार्ने बाँदरलाई खोर तथा जालका मदतले समाएर निकुञ्जमा पुर्याउनका लागि बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा भारतीय शिकारीलाई दिक्तेलमा बोलाइएको हो ।
बाँदर समात्नका लागि गत माघ २१ गते दिक्तेल आइपुगेका दुई जना शिकारीले आफ्नो थप ७ जनाको टोली शुक्रबार ल्याएका हुन् । टोलीले बाँदर समात्ने र किसानहरुले राहत पाउने विश्वास गरिएको छ ।
दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाभित्रका १५ वडाका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज र्पुयाउनका लागि नगरपालिकाकै १० लाख रुपैयाँको खर्चमा शिकारीलाई जिल्ला भित्राइएको अध्यक्ष घिमिरेले बताए ।
खोटाङमा मात्र होइन, देशका सबैजसो पहाडि जिल्लामा बाँदर आतंक छन् । मकै, धान, गहुँ लगागतका अन्नबाली बाँदरले सखाप पार्न थालेपछि स्थानीय तहमा बाँदर नियन्त्रण गर्ने उपायको खोजी भइरहेको छ ।
पछिल्लो समय गाउँबाट शहरमा बसाइसराईको क्रम बढ्दो छ । बसाई सरेपछि बाँझो जग्गामा झाडी र बुट्यानले भरिँदा बाँदरका लागि थप आश्रमस्थल बन्न पुगेको छ । बाँदरको आतंक नियन्त्रण गर्न स्थानीय तहले बजेट बिनियोजनसमेत गर्न थालेका छन् ।



लाेकपाटी न्यूज

