कांग्रेस बाजुरा सभापतिमा रामसिंह रावल विजयी

लोकपाटी न्यूज

राजेन्द्र बिक/बाजुरा। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औं जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि गरिएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार रामचन्द्र निकट मानिने रामसिंह रावल जिल्ला सभापतिमा विजयी भएका छन्।

बिहिवार साँझबाट शुरु गरिएको मतगणना अनुसार सभापतिमा विजयी रामसिंह रावलले ६ सय ५ मत ल्याएका छन् भने देउवा निकट मानिने उम्मेदवार कविराज पंडितको पक्षमा ५ सय ६६ मत रहेकाे छ। पहिलो चरणको निर्वाचनमा कोही पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि देउवा पक्षका पंडित र पौडेल पक्षका रावलवीच पुनः मतदान भएको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताए।

जिल्ला अधिवेशनको निर्वाचनमा नेपाली काँग्रेसका १२ सय १२ जना प्रतिनिधि मध्ये १२ सय ७ जनाले मतदान गरेका थिए । उपसभापतिमा भने पदम बडुवाल र नारायण उपाध्याय, सचिवमा भरत रोकाया र तिलक पुरी, सहसचिवमा सुरेन्द्र सिंह र कृष्ण उपाध्याय पहिलो चरणको निर्वाचनबाटै विजयी भइसकेका छन्।

पहिलो चरणमा स्वतन्त्र प्यानलबाट उम्मेदवार बनेका चक्र बहादुर शाहले रामसिंह रावललाइ समर्थन गरेपछि विजयी हुन रावललाइ सहज भएको हो।