काठमाडाैं। नेकपा एमालेले हालै सार्वजनिक गरेको नयाँ लोगोप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ। एमालेले आफ्नो पार्टीको चुनाव चिन्हसँग मिल्ने खालको लोगो बनाएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको हो।
एमालेले गत असोज १५-१७ मा गरेको विधान महाधिवेशनबाट पार्टीको नयाँ लोगो सार्वजनिक गरेको थियो। उक्त लोगोमा सूर्यभित्र हँसिया हथौडा अंकित गरिएको छ। माओवादीले आफूहरुको चुनाव चिन्ह, गोलाकारभित्रको हँसिया हथौडासँग मिल्दो लोगो एमालेले प्रयोग गरेको भन्दै आपत्ति जनाएकाे हाे।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एउटा दलको चुनाव चिन्ह अर्कोले प्रयोग गर्न नमिल्ने बताएका छन्। लोकतन्त्रमा विधिको शासनलाई अवलम्वन गर्नुपर्ने र निर्वाचन कानुन अनुसार एउटा दललाई दिई सकेको चुनाव चिन्ह अर्को दलले चुनाव चिन्ह वा लोगोको रुपमा प्रयोग गर्न नमिल्ने उनले बताए। गोलाकारभित्रको हँसिया हथौडा अंकित चुनाव चिन्ह माओवादी केन्द्रले प्रयोग गर्दै आइरहेको छ।



लोकपाटी न्यूज

