नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरमा आतंककारीले सुरक्षाकर्मीमाथि गरेको आक्रमणबारे बोल्दै त्यसमा संलग्नहरूलाई दण्ड दिइने बताएका छन् ।
केही वर्षयताकै सबभन्दा घातक भनिएको आक्रमणबारे बोल्दै मोदीले आतंककारीले ठुलो मुल्य चुकाउनु पर्ने बताएका हुन् । उनले भने, ‘म देशलाई यो विश्वास दिलाउन चाहन्छु कि आक्रमणका पछाडि जुन शक्ति छ, जो अपराधी छन् तिनलाई अवश्य सजाय मिल्नेछ ।’
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह र विपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धी पनि सो घटनाको निन्दा गरेका छन्।
दिल्लीको रेलवे स्टेशनमा नयाँ रेल सेवा उदघाटनको कार्यक्रममा बोल्दै मोदीले यो समय एकदमै संवेदनशील र भावुक क्षण रहेको बताए । यो लडाइँ जित्नका निम्ति लडिलरेको बताउँदै उनले आक्रमणविरुद्ध देश एकजुट भएर लागिरहेको बताए । आतङ्कवादविरुद्ध सबै मानवतावादी शक्तिहरू एक भएर लड्नुपर्ने उनको आग्रह छ ।
‘संसारभरि एक्ल्याइएको हाम्रो छिमेकी देश यदि यो ठान्छ कि ऊ भारतमा अस्थिरता उत्पन्न गर्न सफल हुन सक्छ भने उसले त्यो सपना देख्न छाडिदेओस्। उनले भने, ‘नराम्रो अवस्थाबाट गुज्रिरहेको हाम्रो छिमेकीले यस्तो वितण्डा मच्चाएर भारतलाई अस्तव्यस्त पार्ने प्रयास पूरा हुने छैन ।’
यस्तै प्रधानमन्त्री केपी ओलीले घटनालगत्तै भारतीय समकक्षी मोदीलाई फोन गर्दै घटनाबारे समवेदना प्रकट गरेका थिए।
पाकिस्तानले भने सो घटनामा आफू संलग्न नभएको दाबी गरेको छ ।



लाेकपाटी न्यूज

