काठमाडौं। वर्तमान सरकारमा सहभागी हुनको लागि नेकपा माओवादी केन्द्रबाट मन्त्रीका लगि प्रस्तावित देवेन्द्र पौडेल २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बाग्लुङ क्षेत्र २ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद हुन्।
नेकपा हुँदा पौडेल स्कुल विभागका उपप्रमुख रहेका थिए। हाल माओवादी केन्द्रका स्थायी समिति सदस्य उनी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाका बखत राजनीतिक सल्लाहकारका रुपमा रहेका थिए।
त्यस्तै पौडेल स्थायी समिति सदस्य भएर पनि हालसम्म मन्त्री नभएका एक मात्र नेताका रुपमा पनि चिनिन्छन्।
देवेन्द्र पौडेल उनको वास्तविक नाम रहेता पनि उनको सांकेतिक नाम भने सुनिल रहेको छ। उनको जन्म वि सं २०२१ पौष २८ गते बाग्लुङ जिल्लाको अमलाचौर वडा नं १ स्थित वरडाँडामा भएको थियो।
सानै उमेरदेखि राजनीतिक रुपमा सक्रीय पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन्। उनी २०३६ सालदेखि राजनीतिक जीवनमा सक्रीय भएको पाइन्छ। राजनीतिक जीवनमा उनी नेकपा माओवादीको केन्द्रीय सदस्य पोलिटव्युरो सदस्य हुँदै हाल उनी पार्टीको स्थायी समिति सदस्य रहेका छन्।
उनले आफ्नो राजनीति जीवन र यात्रामा थुप्रै वैचारिक र सैद्धान्तिक लेख तथा कृतिहरुको रचना समेत गरेका छन्। उनले ‘नेपालमा वर्गसंघर्ष र वर्गहरुको विश्लेषण’, ‘राजतन्त्र र प्रजातन्त्रबारे’, ‘नेपालमा किसान समस्या’, ‘राजाको संविधान सुझाव आयोग वा जनताको संविधानसभाको निर्वाचन’, ‘बौद्धिक समूदायको सिंहावलोकन’ लगायतका थुप्रै पुस्तक तथा बुकलेटहरु प्रकाशनमा ल्याएका छन्।



लोकपाटी न्यूज

