काठमाडाैं। प्रदेश २ को प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेकाे छ।
बुधबारको बैठकमा लोसपा प्रदेश २ संसदीय दलको नेता जितेन्द्र सोनलले मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको सुशासनमाथि प्रश्न उठेको भन्दै सुशासन कायम गर्न नसक्ने मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका हुन् ।
अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर संघीयता कमजोर बनाउन खोजेको मुख्यमन्त्रीको भनाइपछि सोनलले अख्तियारले छापा हान्दैमा लौकामा औँला देखाए झैँ संघीयता नसुक्ने बताए । ‘अख्तियारको छापापछि मुख्यमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको छ, मुख्यमन्त्रीले नैतिकता बचाउन राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ’, उनको भनाइ छ ।
उनले दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री राउतले विश्वासको मत नलिएको भन्दै सरकारलाई असंवैधानिक भन्ने कि नभन्ने भनेर प्रश्न गरे । उनले मुख्यमन्त्री राउतलाई वर्तमान सरकार संविधानको कुन धारा अन्तर्गत चलिरहेको छ भन्ने विषयमा जानकारी गराउन समेत आग्रह गरे ।



लोकपाटी न्यूज

