नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल नियन्त्रणमा

लोकपाटी न्यूज

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । महाशाखाले चलाएको नम्बर प्लेट बिरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले ढाँचाअनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुईलिएका, अनटेस्ट वा अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाईकलहरु बिरुद्ध विशेष चेकजाँच अभियान संचालन गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।

विशेष गरी नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिएका मोटरसाइकलहरुले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको छ। त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन समेत समस्या हुने गरेको एसएसपी भट्टराईले बताए।

कतिपय त्यस्ता मोटरसाइकलहरु तीब्र गति र लापरबाहीका साथ चलाउने, ट्राफिक नियम उल्लंघन गर्दै हिँड्ने गरेको र हराउँदा समेत फेला पार्न सकस हुने गरेको महाशाखाले जनाएको छ । सम्पूर्ण सवारी धनीलाई त्यसमा पनि मोटरसाइकल धनीलाई आफ्नो सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अवस्था समेत सही हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुन सक्ने चोरी लुटपाट लगायतका अपराधिक क्रियाकलापलाई रोक्न यस अभियानले महत्वपुर्ण भूमिका निर्वाह गर्ने महाशाखाको बुझाई छ । त्यस्ता तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले पाँच सयदेखि पन्ध्र सय रूपैँयासम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्