म बाँचेकाेमा सबैलाई चिन्ता छ : ओली

KP sharma Oli-22
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरु दुई वटा कुराले चिन्तित भएको बताएका छन् । आइतबार विधान महाधिवेशनमा प्रस्तावहरूमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले यस्तो बताएका हुन् ।

उनले भने , ‘हाम्रा विरोधीहरु अहिले दुईवटा कुराले अत्यन्त चिन्तित छन्। एउटा म बाँचिरहेकाले चिन्तित छन् । यो बिमारी हुन्छ, अप्रेशन गर्छ, फेरि के गर्छ ? मेनेन्जाइटिस हुन्छ फेरि बाँच्छ । बिमारी भयो अब त होलाकि भन्यो फेरि बाँच्छ ।’

त्यस्तै उनले विरोधीहरु चिन्तित हुनुपर्ने अर्को कारण पनि खुलाए । उनले भने, ‘अर्को कुरा कार्यकर्ताले जनताले असाध्यै धेरै माया गर्छन् । त्यसले एमालेलाई फाइदा पुग्छ । जनता गोलबन्द हुन्छन्, त्यसकारण चिन्तित छन् ।’ अध्यक्ष ओलीले आफूमाथि देवत्वकरण गरेको हल्ला चलाएर भ्रम फिँजाएको पनि आरोप लगाए ।

‘एउटा हल्ला चलाएका छन् । भन्ने गर्छन्– नेकपा एमालेमा बोल्नै पाइँदैन । उनीहरुले के खोजेका छन्, सोचेका छन् भने यहाँ बहुत झगडा भैदिए हुन्थ्यो, मारामार भैदिए हुन्थ्यो । कोही नेता स्थापित हुन नपाए हुन्थ्यो । सब खुइलिए हुन्थ्यो । सबैलाई खुइल्याउन पाए हुन्थ्यो’, उनले पार्टीभित्र अनेकथरी लाञ्छना लगाएदेखि त्यसैलाई समातेर भन्न पाइन्थ्यो भन्नेमा रहेको बताए ।

उनले अगाडि भने, ‘अनि उनीहरु देवत्वकरणका कुरा उठाउँछन् । हामी कसैलाई देवता मान्दैनौ देवत्वकरण गर्दैनौ, तर लिडरसिप हुन्छ, लिडरसीपका वरिपरि पार्टी एकीकृत हुन्छ।’ ओलीले आफूमाथि लागेको आरोपको खण्डन गरे । उनले त्यसरी नै आन्दोलन एकीकृत हुने भन्दै त्यो स्वभाविक भएको बताए ।