‘हामी विकास गरिछाड्ने सङ्कल्पमा छौँ’

kp oli
लाेकपाटी न्यूज

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँग जीवन्त सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा बिहिबार भएको ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ लाई सम्बोधन गर्दै उनले सरकारले निजी क्षेत्रसँगको सहकार्यमा लगानी मैत्री कानून बनाएको जानकारी गराएका हुन् ।

ओलीले मुलुकको विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै उद्यमशीलतालाई प्रोत्साहन गर्न सरकार सधैँ तयार रहेको बताए ।

सरकारले मुलुक समृद्धिका लागि मजबुत आधार तयार गरेको उल्लेख गर्दै उनले भने, “आर्थिक विकासका लागि स्पष्ट लक्ष्यका साथ हामी अघि बढेका छौँ, हाम्रो गन्तव्य भनेको समृद्ध नेपाल नै हो, विकास गरिछाड्ने सङ्कल्पमा हामी छौँ ।”

नेपालको संविधानले सबै नागरिकलाई अवसर, सुरक्षा, सम्मान र अधिकार प्रदान बताउँदै उनले एक वर्षमा संविधानअनुसारका धेरै नयाँ कानून निर्माण गरेको दावी गरे ।

“नेपाल अब दुई ढुङ्गाबीचको तरुल होइन, दुई ठुला बजारबीचको अवसर बोकेको सम्पन्न राष्ट्र हो”, प्रधानमन्त्री ओलीले भने, ‘हामी देश र समाजलाई आधुनिक बनाउन चाहन्छौँ ।’ सरकार सुशासन र आर्थिक विकासको महाअभियानमा जुटेको बताउँदै उनले आधुनिक र विकसित नेपाल बनाउनमा आफ्नो चिन्तन रहेको प्रष्ट पारे ।

यस्तै सङ्घीय सांसद एवं नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले उद्योग व्यवसाय शुरु गर्दा आवश्यकपर्ने सरकारी दर्ता प्रक्रिया प्रोत्साहनभन्दा नियन्त्रणमुखी रहेको उल्लेख गर्दै यसलाई परिवर्तन गर्नुपर्ने खाँचो औँल्याए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्