माैनताकाे पनि अर्थ हुन्छ, समय आएपछि बाेल्छु : भीम रावल

Bhim-Rawal-2
लोकपाटी न्यूज

असाेज १० काठमाडाै। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू माैन बस्नुकाे अर्थ भएकाे भन्दै समय आएपछि बोल्ने बताएका छन्।केन्द्रीय कमिटीकाे बैठक चलिरहेको बेला स्थायी कमिटी सदस्यबीच भएको अनौपचारिक छलफलमा नेता रावलले आफू पार्टीको पछिल्लो अवस्था र गतिविधिबारे तत्काल नबोल्ने र केही समय मौन बस्ने बताएका हुन्।

केन्द्रीय कमिटी बैठक भइरहेको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा आइतबार दिउँसो स्थायी कमिटी सदस्य अनौपचारिक बैठक बसेको थियो। बैठकमा उपस्थित एक नेताका अनुसार रावलले छलफलमा आफू अहिले केही नबोल्ने र समय आएपछि बोल्ने बताएका हुन्।

पार्टीमा पछिल्लो समय रावल असन्तुष्ट छन्। दश बुँदे सहमतिअनुसार पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने कुरामा एमालेभित्र मतभेद छ। अन्तिम समयमा माधवकुमार नेपालको साथ छोडेर एमालेमै बसेका उपाध्यक्ष भीम रावलले दश बुँदे सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू हुनुपर्ने बताइरहेका छन्। तर अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज माओवादी केन्द्र छोडेर आएका लेखराज भट्टलाई बनाएका छन्।

बागमती प्रदेशमा पनि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’ लाई इन्चार्ज बनाइएको छ।उपाध्यक्ष रावलले केन्द्रीय कमिटी बैठकमा यो विषय उठाएका थिए। अध्यक्ष ओलीले यसबारेमा स्थायी कमिटी बैठकबाट निर्णय गर्ने बताएका थिए।