काठमाडौं, २ फागुन । लगातार ३\४ दिनदेखि खुलेको मौसम बिहीबारदेखि फेरि मौसम बदली भएको छ ।
पश्चिमी वायुको प्रभावअन्तर्गत पानी पार्ने नयाँ प्रणाली प्रवेश गरेपछि मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त प्रणालीले अब केही दिन देशका धेरैजसो ठाउँमा वर्षा गराउने सम्भावना रहेको र आज विशेष गरी देशको पश्चिमी भू-भागमा वर्षा गराउने मौसमविद् शान्ति कँडेलले बताइन् । उनले भनिन्, ‘यो नयाँ खालको प्रणाली हो, जुन पहिलेको जस्तो शक्तिशाली पनि छैन र दोस्रोपटक भित्रिएको जस्तो कमजोर पनि हाेइन ।’
यसैगरी दिउँसो १ र २ बजेपछि काठमाडौंमा पनि पानी पर्ने अनुमान गरिएको छ । पूर्वका केही स्थानमा पनि आज वर्षा हुने देखिएको छ ।
यसरी वर्षा गराउने एउटा प्रणाली जाने र अर्को नयाँ प्रणाली आउने क्रम चलिरहन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पश्चिमी भू-भागका धेरै स्थानमा वर्षा हुने सम्भावना छ ।
पूर्व र मध्य नेपालमा सामान्य बदली रही मध्य र पूर्वका पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ ।



लाेकपाटी न्यूज

