बुटवल। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी भएको छ। सांसद विमला कुमारी खत्रीले पूर्वमुख्यमन्त्री पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिएकी हुन्।
साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धक सम्बन्धी कानूनअनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन्।
खत्रीले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छिन्।
सांसद खत्रीले दिएको उजुरी अनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ले व्यवस्था गरेको छ।
रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले खत्रीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि गरे। उनले जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताए।
खत्री र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएका हुन्।
उनले घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिवद्धतासहितको पत्र दिएका छन्। दाङ प्रहरी प्रवक्ता सुरेश काफ्लेले भने दाङमा उजुरी आइनपुगेको बताए।



लोकपाटी न्यूज
