दिल्ली, २९ माघ । भारतको दिल्लीस्थित एउटा होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ ।
दिल्लीको पाँचतले अर्पित प्यालेस होटलमा मङ्गलवार बिहान आगो लागेको प्रहरीले जनाएको छ । आगोले होटलको सबैभन्दा माथिल्लो भाग पूरै जलेको बताइएको छ ।
धेरैको मृत्यु निसासिएर भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । एउटा भिडिओमा सिसाको झ्याल फोडेर मानिसहरू हाम फालिरहेको देखिन्छ ।
काठले बेरिएर बनाइएको होटलको गल्लीका कारण त्यहाँबाट भाग्ने बाटो नपाएको अग्निनियन्त्रक विपिन केन्ताले बताए । भवनबाट खसेर ज्यान गुमाउनेमा दुई महिला र एक बालक समेत छन्। अग्निनियन्त्रकहरूले ३५ जनाको उद्धार गरेका छन्।
आगलागीको कारण अझै खुल्न सकेको छैन । अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान शुरू गरेका छन्।



लाेकपाटी न्यूज

