बैङ्कक, २९ माघ । थाइल्याण्डकी राजकुमारी उबोलरतना महिडोल प्रधानमन्त्रीको उम्मेदवार बन्न नपाउने भएकी छिन् । निर्वाचन आयोगले सोमबार उनलाई उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको हो । उनले गत शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।
थाइल्याण्डको शक्तिशाली सिनावात्रा घरानीयाको प्रभावमा रहेको थाई रक्षाचार्ट पार्टीका तर्फबाट ६७ वर्षीया राजकुमारी महिडोलले उम्मेदवारी घोषणा गरेकी थिइन् ।
उनले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उनका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएका थिए ।
उनी अहिले पनि राजपरिवारको सदस्य भएकाले राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई थियो । थाइल्याण्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रुपमा हेरिने भएकाले राजसंस्थाको आसयलाई पालना गरेको पाईन्छ ।
राजाकै आसय र असन्तुष्टिलाई ध्यानमा राखेर निर्वाचन आयोगले राजकुमारी महिडोललाई निर्वाचनमा सहभागी नगराउन अयोग्य घोषणा गरेको अधिकारीहरुले बताएका छन् ।
आउदो मार्च २४ का दिन हुने आम निर्वाचनका लागि राजकुमारीलाई अगाडि सारेको रक्षाचार्टले अब अर्को उम्मेदवारलाई अगाडि बढाउनुपर्ने भएको छ । प्रधानमन्त्रीका लागि विगत पाँच वर्षदेखि थाइल्यान्डको सत्तामा रहेका सैनिक नेता प्रयुत चान–ओ–चाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
सैनिक विद्रोह मार्फत राजनीतिमा आएका भएका प्रयुतले यस पटकको निर्वाचन मार्फत् आफूलाई नागरिक नेताका रुपमा स्थापित गराउने प्रयासमा छन् । सैन्य विद्रोहबाट पदच्युत गरिएपनि थाईल्याण्डको राजनीतिमा पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको अत्यन्त प्रभाव देखिन्छ ।



लाेकपाटी न्यूज

