नेकपाका महासचिव विष्णु पौडेलले फागुन १ गते जनयुद्ध दिवस मनाउन निर्देशन दिएका छन् । पार्टीभित्र विवादको अड्कलबाजी भइरहेका बेला महासचिव पौडेलले पार्टीभित्र एकताको सन्देश दिएका हुन् ।
आइतबार रुपन्देहीमा पौडेलले भेनेजुयलाबारे सचिवालयले जारी गरेको विज्ञप्ति नै आधिकारिक रहेकाले विवाद नगर्न अपील पनि गरे । उनले यस विषयमा ओली–प्रचण्ड एकमत भएकाले अनावश्यक शंका नगर्न आग्रह पनि गरेका छन् ।
कार्यक्रममा पौडेलले फागुन १ गते केन्द्र, प्रदेश र स्थानीय तहमा जनयुद्ध दिवस मनाइने उल्लेख गर्दै त्यसको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । महासचिवकै निर्देशनअनुसार संयुक्त अखिल (अखिल र अखिल क्रान्तिकारी) ले जनयुद्ध दिवसको तयारी थालेका छन् ।
यसो त फागुन १ गते सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेको छ । रोजगार कार्यक्रमको घोषणा फागुन १ गते नै राख्नुलाई कतिपयले जनयुद्धले राजनीतिक क्रान्ति गरेको र प्रधानमन्त्री रोजगार कार्यक्रमले आर्थिक क्रान्ति गर्ने अर्थमा सन्देश दिए खोजेको अर्थमा विश्लेषण गरेका छन् ।
पार्टी एकताको दस्तावेजमा जनयुद्ध शब्दको सट्टा सशस्त्र संघर्ष राखे पनि एकीकृत नेकपा जनयुद्धका उपलब्धिलाई संश्लेषण गर्न तयार छ । जनयुद्ध र जनआन्दोलनको बलमा नेपालमा गणतन्त्र, संघीयता र वामपन्थीहरुको सरकार आएकोमा पार्टी एकमत देखिन्छ ।
केन्द्रमा पार्टी एकता भएको एक वर्ष बित्न लाग्दा पनि तल्लो तहमा एकता हुन नसकेको, भेनेजुयलाको विषयले पार्टीभित्र तरङ्ग पैदा भएको बेला नेकपाले आधिकारिक रुपमै जनयुद्ध दिवस मनाउने निर्णय गरेर पार्टीभित्र बलियो एकताको सन्देश दिएको छ ।



लाेकपाटी न्यूज

