काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूबिचको ४९ वर्षे सहकार्य तोडेपछि औपचारिक रूपमै पार्टी विभाजन भएको छ। विभाजनसँगै एमाले विभाजनमा निर्णायक को भन्ने चर्चासमेत चल्न थालेको छ।
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबिच एकता भएर नेकपा बनेसँगै कतिपय नेताहरूलाई उक्त एकता मन परेको थिएन। पार्टी एकताकै दिन बल्खुमा आयोजित कार्यक्रममा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले त पार्टी कार्यदिशाको खुलेरै विरोध गरेका थिए। कार्यक्रममा अध्यक्ष प्रचण्डले नेकपाको राजनीतिक कार्यदिशा ‘जनताको जनवाद’ भएको भन्दै पोखरेलको आलोचना गरेका थिए।
नेकपाको २ वर्षे कार्यकालमा समेत नेता पोखरेल लगातार पार्टी एकताको पक्षमा उभिएका थिए। एकातर्फ अध्यक्ष बन्ने लाइनमा रहेको बेला पार्टी एकता हुनु र अर्कोतर्फ महासचिवबाट सचिवालय सदस्यमा घटुवा पोखरेलका लागि सहीनसक्नुको घटना थियो। त्यसैले उनी पार्टी एकताको दिनदेखि नै एकताका विरुद्ध उभिएको मानिन्छ। पोखरेलका औपचारिक र अनौपचारिक अभिव्यक्ति र गतिविधिले उनी पार्टी एकताबाट सन्तुष्ट छैनन् भन्ने प्रष्ट छनक दिन्थ्यो।
पोखरेल मात्र नभएर एमालेका उपाध्यक्ष भीम रावलसमेत पार्टी एकताबाट खुसी थिएनन्। सुरूका दिनमा ओली–प्रचण्ड मिल्दैमा नेकपा मिल्दैन भन्ने गरेका रावललाई वरिष्ठ नेता माधवकुमार नेपालले एकतामा सहमत गराउने कोशिस गरेका थिए। त्यसपछि रावल एकताप्रति केही सकारात्मक देखिँदै आएका थिए। तर, पार्टीभित्रको शक्ति संघर्षमा रावल पनि एकताप्रति ओठे प्रतिवद्धता जनाउनेबाहेक दृढतापूर्वक नउभिएको उनीनिकटकै नेताहरूको गुनासो छ।
पार्टी उपाध्यक्ष रावलले आफूलाई ओलीपछिको उत्तराधिकारीका रूपमा हेर्दै आएका थिए। माओवादी केन्द्रसँग एकतापछि त्यो सम्भावना टरेको निष्कर्षमा उनी पुगेको बताइन्छ। त्यसकै कारण उनले नेकपाको एकता बचाउनसमेत मध्यमार्गी भूमिका नखेली ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आए।
नेकपामै रहँदा शंकर पोखरेल, विष्णु रिमाल, गोकुल बाँस्कोटा, सूर्य थापा लगायतका नेताहरू पनि एकताप्रति सकारात्मक देखिएनन्। उनीहरू हमेशा नेकपाको एकता भंग हुनसक्ने धम्की दिँदै अगाडि बढे। ओलीको ‘किचन क्याविनेट’ मानिएका अधिकांश नेताहरू एकताविरोधी हुँदा ओलीसमेत विरोधी कित्तामा तानिएको धेरैको विश्लेषण छ।
२०७७ पुस ५ मा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको विवाद उत्कर्षमा पुग्यो। एउटा समूहले अर्को समूहलाई कार्वाहीसम्म गर्ने स्थितिमा पुगेको अन्तरसंघर्षले फागुन २३ को सर्वोच्चको फैसलापछि नयाँ मोड लियो। यो फैसलाबाट एकताविरोधी नेताहरू उत्साहित भए। नेकपाको एकता भंग गर्ने सर्वोच्चको फैसलाका पक्षमा उनीहरूले दीपावली नै गरे।
परिस्थिति फेरियो, नेकपाको एकता भंग भयो, एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किए। तर, एकताविरोधी नेताहरूको अभियान रोकिएन। फैसलापूर्व नेकपामा देखिएको विवाद एमालेमा सल्किँदै गयो। ओलीको किचन क्याविनेटका नेताहरू मात्र होइन, नेपाल समूहका रावलहरू पनि अन्तरसंघर्षमा घिउ थप्न लागिरहे। ओली र नेपालबिच भएका पटकपटकका वार्ता पनि तिनै नेताहरूका कारण निष्कर्षमा पुग्न नसकेको चर्चा गर्ने गरिन्छ।
ईश्वर पोखरेल र भीम रावल सुरुदेखि नै एकता प्रक्रियाप्रति सकारात्मक भएको भए सम्भवतः नेकपा र नेकपा (एमाले) दुवैको विभाजन टर्नसक्थ्यो। तर, उनीहरूले एकताका लागि सकारात्मक भूमिका खेलेनन्। पछिल्लोसमय एमालेको एकताप्रति सकारात्मक देखिएका रावल पनि कार्यवाहक अध्यक्षको लोभले मध्यमार्गी भूमिका छोडेर ओलीतिरै टाँसिएको एमालेमा चर्चा चल्ने गर्दछ।
उमेरका हिसाबले लगभग माधव नेपालकै समकक्षी मानिने पदाधिकारीहरू एमाले फुटाउन कम्मर कसेर लागेपछि अन्ततः बुधबार एमाले विभाजित भएको छ। नेताहरूको महत्वाकांक्षा र स्वार्थका कारण एमाले अस्तित्वरक्षाको संकटमा परेको भन्दै अतिवादी नेताहरूप्रति एमाले कार्यकर्ताले रोष प्रकट गरिरहेका छन्।



लोकपाटी न्यूज

