काठमाडौं। दल विभाजन सम्बन्धी देउवा सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेसँग एमालेको विभाजन अन्तिम चरणमा पुगेको छ। पार्टी विभाजन निश्चितप्रायः देखिँदा एमालेका दुवै समूह आफ्नो शक्ति बलियो बनाउने प्रयासमा जुटेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति एक विज्ञप्ति जारी गर्दै एमाले फुटाउनका लागि सरकारले अध्यादेश ल्याउन लागेको बताएका थिए। उनले सरकारले अध्यादेश ल्याए प्रतिकार गर्ने भन्दै सचेत रहन नेता–कार्यकर्तालाई अपील गरेका थिए। उनले एमालेको एकता बचाउन नेपाल समूहले त्याग गर्नुपर्ने आसयको विज्ञप्ति जारी गरेपछि वरिष्ठ नेता माधवकुमार नेपालले ओलीमा आत्मालोचनाको कुनै गुञ्जायस नदेखिएको भन्दै आलोचना गरेका थिए।
अन्ततः मंगलबार सरकारले सिफारिस गरेको अध्यादेश बुधबार दिउँसो प्रमाणिकरण भएको छ। अध्यादेश प्रमाणिकरण भएसँगै ओली समूहले नेता–कार्यकर्तालाई विभाजनमा जानबाट रोक्न कोशिस गरेको छ, यता नेपाल समूहले नयाँ दल दर्ताका लागि आफ्नो गृहकार्य अन्तिम चरणमा पुर्याएको छ। दुवै समूहको कसरत तीव्र हुँदै जाँदा नेता–कार्यकर्ताको सक्रियता पनि बढेको छ।
ओली समूहले नेपाल समूहमा रहेका नेता–कार्यकर्तालाई नयाँ दलमा जानबाट रोक्ने कोशिस गरिरहेको छ। त्यसका निम्ति ओली समूहका नेताहरूले विभिन्न प्रलोभन देखाइरहेको एक नेताले बताए। ‘‘आफ्ना कमजोरी सच्चाउने र एकताका निम्ति पहल गर्ने काम भएको छैन, बरु विभिन्न प्रलोभन र आफ्नो अहंकार देखाइएको छ’’ ती नेताले भने, ‘‘हाम्रो चाहना एकीकृत पार्टी हो। तर, ओलीका कारण त्यो सम्भव भएन।’’
गत फागुन २३ गते नै अध्यक्ष ओलीले एमालेमा अब कुनै समूह नभएको घोषणा गरेका थिए। उनले माधव नेपाल समूह छोडेर आउनेलाई उचित जिम्मेवारी दिन सकिने तर समूह वा गुटलाई कुनै मान्यता नदिने घोषणा गरेका थिए। ओली समूहले माधव नेपाल बिनाको एमाले एकताको नारासमेत दिएको थियो। त्यसयता केही नेताहरू नेपाल समूह छोडेर ओलीतिर लागे पनि उनीहरूलाई सम्मानजनक जिम्मेवारी दिइएको छैन।
नेपाल समूहबाट आउनेहरूलाई मात्र होइन, ओलीले माओवादी केन्द्रबाट आफ्नो समूहमा आउने नेताहरूलाई समेत ठोस जिम्मेवारी दिएका छैनन्। माओवादीबाट ओली समूहमा भित्रिएका अधिकांश नेताहरूलाई शक्तिशाली विभाग र प्रदेशबाट पन्छाएर औपचारिक जिम्मेवारी दिइएको छ।
भदौको दोस्रो साता विधान महाधिवेशन गर्ने तयारी गरिरहेको ओली समूहले नेता रामबहादुर थापालाई व्यवस्थापकको जिम्मेवारीमा थन्काएको छ। त्यस्तै नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा लगायत पनि एमालेमा उपेक्षित रहँदै आएका छन्। माओवादीबाट ओली समूहमा प्रवेश गरेका २३ जना केन्द्रीय सदस्यसमेत बेरोजगार छन्।
गत पुस ५ गते तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भंग गरिदिएपछि थापा, रायमाझी, भट्ट लगायतका नेताहरू ओली समूहमा लागेका थिए। फागुनमा सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छोडेर औपचारिक रूपमै एमालेमा समावेश भएका थिए। एमालेमा समाहित हुने बेला ओलीले माओवादीबाट आउने नेताहरूको संरक्षण गरिने उद्घोष गरेका थिए। तर, माओवादी नेताहरूको न मन्त्री पद जोगियो, न सांसद नै। अहिले उनीहरू घर न घाटको भएका छन्।
एमालेकै नेपाल समूहबाट ओलीतिर लागेका नेताहरू पनि जिम्मेवारीविहीन छन्। रघुवीर महासेठ, लालबाबु पण्डित, शेरबहादुर तामाङ, विष्णु रिजाल लगायतका नेताहरू नेपाल छोडेर ओली समूहतिर लागेका छन्। तर, उनीहरू पनि केन्द्रीय समितिका बैठक र अनौपचारिक छलफलहरूमा अपमानित हुने गरेको एक नेताले बताए। ओलीले औपचारिक र अनौपचारिक छलफलमा उनीहरूमाथि व्यंग गर्दै अपमान गर्ने गरेका छन्।
नेपालका शीर्ष नेताहरूमध्ये ओली ईर्श्यालु नेता मानिन्छन्। उनले आफ्नो विरोध गर्नेको डायरीमा सूचि बनाएर राख्ने र उचित समयमा बदला लिने गरेको उनीनिकट नेताहरू नै बताउँछन्। तसर्थ, ओलीले एकपटक आफ्नो विरोध गरेका नेता–कार्यकर्तालाई जीवनभरि दुश्मन देख्ने र उनीहरूको राजनीतिक भविष्यमाथि प्रहार गर्ने गरेका छन्।
एमाले विभाजनको डिलमै पुग्दा ओलीले नेता–कार्यकर्ता आफूतिर तान्न कोशिस गरिरहेका छन्। तर, ढिलो वा चाडो ओलीले उनीहरूमाथि पनि बदला लिनेछन्। अनि, बदला लिने उपर्युक्त समय सम्भवतः विधान महाधिवेशन हुनेछ।



लोकपाटी न्यूज

