काठमाडौं। लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले बहुमतको सरकारको दाबी पेश गरेको छ। ४२ सांसदको हस्ताक्षरसहित दाबी पेश गरिएको हो।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई दाबीपत्र बुझाएका हुन्। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाइएको छ।
अल्पमतमा रहेका शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले बहुमतको सरकारको दाबी पेस गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएका छन्। केसीको पक्षमा माओवादी १८ जना, कांग्रेसबाट १९ जना, जनता समाजवादी पार्टीबाट ३ जना र राष्ट्रिय जनमोर्चाबाट एक जना रहेका छन्।
हाल प्रदेश सभामा सभामुखसहित ८० सदस्य छन्। आज दिउँसो तीन बजेसम्म दाबी प्रस्तुत गर्ने समय सकिएपछि मुख्यमन्त्रीको रुपमा केसीलाई बेलुका ५ बजे शपथ खुवाउने तयारी रहेको माओवादी सांसद इन्द्रजीत थारुले बताए।
‘अहिलेसम्म सोनाम कमरेडको मात्रै दाबी प्रस्तुत भएको छ’ थारुले भने, ‘मुख्यमन्त्री दाबी प्रस्तुत गर्ने तीन बजेको समय सकिएपछि बेलुका ५ बजे शपथ गर्ने तयारी गरिएको छ।’ मुख्यमन्त्रीको रुपमा केसीले शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी रहेको थारुले बताए।
यसैबीच, लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले)ले दाबी नगर्ने भएको छ। नयाँ सरकारमा दाबी नगर्ने लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा एमाले सांसद हरिप्रसाद रिजालले बताए। ‘सांसद किनबेच गर्ने, होटलमा राख्ने कार्य हामी गर्दैनौं,’ उनले भने, ‘अब एमालेले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ।’ अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा असंवैधानिक तरिकाले विशेष अधिवेशन बोलाइएको सांसद रिजालको आरोप छ।



लोकपाटी न्यूज
