काठमाडौं। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका छन्। मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै शेरचनले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई समय दिएका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजेभित्र दाबी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आह्वान गरेका छन्।
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावको छिनोफानो गर्न प्रदेश सरकारको विषेश अधिवेशन आह्वान भएपछि अल्पमतमा रहेका पोखरेलले बुधबार राजीनामा दिएका हुन्। नयाँ मुख्यमन्त्रीका लागि अहिलेको विपक्षी गठबन्धनबाट कुलप्रसाद केसीले दावी गर्नेछन्। उनी माओवादी केन्द्र संसदीय दलका नेता हुन्।
शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा केसीको नाम सिफारिस भएको छ। केसी पूर्वमन्त्री भइसकेका व्यक्ति हुन्। उनको पक्षमा अहिले ४१ सांसद देखिएका छन्। कांग्रेस, माओवादी, जनता समाजवादी र जनमोर्चाको साथ उनले पाएका छन्।



लोकपाटी न्यूज
