काठमाडौं। लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनका सांसद कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित राजापानी रिसोर्टमा जम्मा भएका छन्। साउन २७ गतेको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने भएकाले आगामी रणनीतिबारे बनाउन विपक्षी ४१ जना सांसद रिसोर्टमा जम्मा भएका हुन्।
सत्तापक्षले सांसदलाई फकाएर आफ्नो पक्षमा पार्न सक्ने आंकलन गर्दै गठबन्धनले सबै सांसदलाई रिसोर्टमा लगेको बताइएको छ। केही हप्ताअघि जसपा सांसद पुर्मती ढेंगा सम्पर्कविहीन भएकी थिइन् भने माओवादी केन्द्रकी सांसद विमला वली हप्ता दिन सम्पर्कविहीन थिइन्। मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएर राखेको सांसद वलीले पत्रकार सम्मेलनमा बताएकी थिइन्।
बुधबार प्रदेश सभाको बैठक र त्यस विषयमा रणनीति बनाउन रिसोर्टमा विपक्षी सांसद जम्मा भएको गठबन्धनका एक नेताले बताए। मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार बहिर्गमन हुने ढुक्क भएपछि रिसोर्टमा जम्मा भएर गठबन्धनले नयाँ बन्ने सरकारमा भागबण्डा कसरी मिलाउने भन्ने विषयमा छलफल गर्ने ती नेताको दाबी छ। ती नेताका अनुसार ८/८ महिना माओवादी केन्द्र र कांग्रेसका तर्फबाट आलोपालो प्रदेश सरकार चलाउने गरी छलफल भइरहेको छ।
यता, अल्पमतमा रहेका मुख्यमन्त्री पोख्रेलसहितका सत्तारुढ सांसद सर्वोच्चको शरणमा पुगेका छन्। एमाले प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य लिला गिरीको नेतृत्वमा अदालतमा रिट दर्ता गरी बैठक नै अवैध भएको दाबी गरेका छन्। उक्त रिटको सुनुवाइको लागि मंगबारलाई पेसी तोकिएको छ।



लोकपाटी न्यूज
