काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सकिएको छ। शुक्रबार वुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै स्थायी कमिटी बैठक सुरु भएको छ।
पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको हो।
केन्द्रीय कमिटी सदस्यहरूले मिश्रित धारणा राखेका छन्। कसैले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा सहभागी हुनुपर्ने बताए भने कसैले पार्टीलाई प्रतिपक्षमा राखेर सरकारमा जान नहुने धारणा राखेका थिए।
नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेपाल नेता मेटमणि चौधरीले केपी ओलीलाई माफी माग्न एक हप्ताको समय दिने तयारी गरेको बताएका छन्।
नेपाल समूहको शुक्रबारको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई माफी माग्न एक हप्ताको अल्टिमेटम दिने तयारी गरेको नेता चौधरीले बताए।
ओलीले पार्टीमा र्पुयाएको क्षति, प्रतिनिधिसभा विघटन र हालसम्म गरेका गल्तीका लागि माफी माग्न समय दिने तयारी गरिएको चौधरीले जानकारी दिए।
चौधरीले केन्द्रीय कमिटीको बैठकमा सरकारमा जाने र पार्टी एकताको प्रयास जारी राख्ने बारेमा छलफल भएको बताए। तर, ओलीको नेतृत्वमा एकता हुन नसक्ने धेरैको मत रहेको उनले बताए। नेता नेपालले साउन २४ गते सम्म एकताको काम सक्न वार्ता टोलीका नेतालाई निर्देशन दिएको उनले बताए।



लोकपाटी न्यूज

