मोरङ, २५ माघ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । सरकारले एक नम्बर प्रदेशको स्थायी राजधानी र नाम टुङ्ग्याउन नसकिरहँदा मेयरले प्रधानन्त्रीसँग भेट गरेका हुन् । इटहरी र धनकुटाले राजधानीका लागि लविङ गरिरहँदा मेयर पराजुली प्रधानमन्त्रीलाई भेटेका हुन् ।
कांग्रेसका तर्फबाट मेयर बनेका पराजुलीले प्रधानमन्त्रीसँग भेटेपछि आफू निकै प्रभावित बनेको बताएका छन् ।
स्रोतका अनुसार मेयर पराजुली र प्रधानमन्त्री ओलीबीच लगभग साढे दुई घण्टा कुराकानी भएको थियो । भेटमा प्रदेशको राजधानी र विकास निर्माणको विषयमा कुराकानी भएको बताइएको छ ।
मेयर पराजुलीलले प्रदेशको स्थायी राजधानीसँगै समग्र विराटनगरको विकासका लागि प्रधानमन्त्रीसँग छलफल भएको र विराटनगरप्रति प्रधानमन्त्री धेरै पोजेटिभ भएको बताए ।
मेयर पराजुलीले आफू प्रधानमन्त्रीको चिन्ता र विचारले प्रभावित भएको बताउँदै भने, ‘उहाँमा काम गर्ने स्पष्ट भिजन रहेछ ।’
भेटमा मेयर पराजुलीले प्रधानमन्त्रीलाई एउटा चिठी पनि थमाएका थिए । चिठीमा ठूला विकास निर्माणको योजनाका लागि केन्द्र सरकारको सहायताका लागि उनले आग्रह गरेका छन् ।
मेयर पराजुलीले विराटनगर क्षेत्रीय विमानस्थल स्तरोन्नतिको लागि प्रधानमन्त्री सकारात्मक भएको बताए । उनले प्रधानमन्त्री रिङ रोडका लागि पनि सकारात्मक रहेको प्रतिक्रिया दिए ।



लाेकपाटी न्यूज

