काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका लागि ‘तयार’ भएका छन्। ओलीले भेट्न खोज्दा पनि ‘अस्वीकार’ गर्दै आएका नेपाल पछिल्लो समय भने भेटका लागि तयार भएका हुन्। नेपाल पक्षीय स्थायी समिति सदस्य रघुजी पन्तले अध्यक्ष ओली र नेपालबीचको भेटवार्ता छिट्टै हुने बताए।
‘अध्यक्ष ओली र नेता नेपालबीच भेटघाट र कुराकानीको तयारी भइरहेको छ,’ उनले भने, ‘कहिले भेट हुन्छ भनेर मिति नसोध्नुस्। उहाँहरूको भेटघाट छिट्टै हुन्छ, मैले त्यही बुझेको छु।’ पन्तले कार्यदलले अध्यक्ष ओली र नेपालकै सल्लाहमा पार्टी एकताका लागि प्रयास गरिरहेको पनि बताए।
‘कार्यदलमा भएको सहमति र कार्यदलमा भइरहेको कुराकानीबारे अध्यक्ष ओली पनि जानकार हुनुहुन्छ। नेता नेपाललाई पनि हामीले जानकारी गराइरहेका छौं,’ उनले भने, ‘दुवै पक्षको सहमति र निर्देशनमा एकता प्रक्रिया अघि बढेको हो।’ उनले अध्यक्ष ओली र नेता नेपालसँग छलफल गरेर एकता प्रक्रियालाई टुंग्याउने प्रयास भइरहेको पनि बताए।
‘उहाँहरूसँगको सल्लाहमै कार्यदल स्तरमा वार्ता भइरहेको छ। हामी सबै नेता मर्यादित र संयमित भएर अघि बढ्नुपर्छ,’ उनले भने। बैठकले दुवै पक्षका नेता संयमित र मर्यादित भएर प्रस्तुत हुनु पर्ने पनि निष्कर्ष निकालेको उनले बताए। नेता पन्तले आफूहरूको प्रयास पार्टीलाई बलियो र एकताबद्ध बनाउने नै भएको बताए।



लोकपाटी न्यूज

