काठमाडौं, १६ श्रावण। शुक्रबार महाकाली नदीबाट तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइनको तार काटेका कारण एक जना नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले खेद प्रकट गरेको छ। शनिबार संगठनका अध्यक्ष कृष्ण केसीले एक विज्ञप्ति जारी गर्दै भारतीय सीमा सुरक्षा बलको अमानवीय कार्यको निन्दा गरेको हो।
संगठनले एक्काइसौं शताब्दीको आधुनिक युगमा मानव जातिले कल्पना गर्न नसक्ने यस प्रकारको ज्यादतीको विज्ञप्तिमार्फत् निन्दा गरेको हो। विज्ञप्तिमा भनिएको छ – ‘‘भारतीय सीमा सुरक्षा बलले तुइनको फलामे तार काटिदिएका कारण दार्चुलाको ब्यास गाउँपालिका–२ निवासी ३० वर्षीय युवा जयसिंह धामीको महाकाली नदीमा डुबेर मृत्यु भएको घटनाप्रति नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको गम्भीर ध्यानाकर्षण गएको छ। सर्वप्रथम २१ औं शताब्दीको आधुनिक युगमा गरिएको यस प्रकारको जंगली बर्बरता र अमानवीय हर्कतको निन्दा गर्दै मृतक धामीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।’’
संगठनका संयोजक केसीले सीमा सुरक्षा बलको ज्यादतीका विरुद्ध उभिन बौद्धिक समुदायलाई अपील गर्दै ज्यादतीपूर्ण घटनाका विरुद्ध र देशको स्वाधीनताका पक्षमा खबरदारी गर्न एवं बौद्धिक र कुटनीतिक तहबाट समस्याको दीर्घकालीन समाधानमा आ–आफ्नो स्थानबाट दवाव र रचनात्मक भूमिकाका लागि सम्पूर्ण वामपन्थी, देशभक्त एवं प्रजातान्त्रिक बुद्धिजीवीहरूमा आग्रह गरेका छन्। यस्तो छ संगठनको विज्ञप्ति।
प्रेस विज्ञप्ति
शुक्रबार महाकाली नदीमा अवस्थित तुइनबाट यात्रा गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको फलामे तार काटिदिएका कारण दार्चुलाको ब्यास गाउँपालिका–२ निवासी ३० वर्षीय युवा जयसिंह धामीको महाकाली नदीमा डुबेर मृत्यु भएको घटनाप्रति नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको गम्भीर ध्यानाकर्षण गएको छ। सर्वप्रथम २१ औं शताब्दीको आधुनिक युगमा गरिएको यस प्रकारको जंगली बर्बरता र अमानवीय हर्कतको निन्दा गर्दै मृतक धामीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं एवं शोकसन्तप्त परिवारजन र आफन्तहरूमा गहिरो समवेदना प्रकट गर्दछौं।
नेपाल र भारत भौगोलिक दृष्टिले छिमेकी हुनुका नाताले सीमा एवं अर्थिक–सामाजिक क्षेत्रमा बहुआयमिक सम्बन्ध रहिआएको छ। तर, छिमेकी मुलूकसँग समानता र स्वतन्त्रताका आधारमा भातृत्वपूर्ण सम्बन्ध स्थापित गर्नुपर्नेमा भारतीय संस्थापन पक्षले पटकपटक नेपाल र नेपाली जनतामाथि आक्रमण र ज्यादती गरिरहेको छ। नेपाल विश्वको एक स्वाधीन, स्वतन्त्र र गौरवशाली इतिहास बोकेको मुलूक हो। हाम्रो स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमान हाम्रा जीवनकै सर्वाधिक महत्वको प्रश्न हो। नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता एवं स्वाभिमानमाथि भारतीय सत्तापक्ष र सुरक्षा फौजले पटकपटक गर्दै आएको यस प्रकारको ज्यादतीले छिमेकी मुलूकहरूसँग भारतको सम्बन्ध दिनप्रतिदिन खस्किँदो छ। तसर्थ, हामी आफ्नो बिस्तारवादी हस्तक्षेप र अमानवीय ज्यादतीलाई रोकी छिमेकी मुलूक एवं नागरिकहरूप्रति समानताको व्यवहार गर्न भारतीय सत्तापक्ष र सम्वद्ध सबैसँग जोडदार माग गर्दछौं।
शुक्रबार भारतीय सुरक्षा फौजबाट गरिएको ज्यादतीको यथार्थ छानविन गरी कुटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवं मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति एवं राहतका निम्ति नेपाल सरकारसँग जोडदार माग गर्दछौं। साथै यस प्रकारको ज्यादतीपूर्ण घटनाका विरुद्ध र देशको स्वाधीनताका पक्षमा खबरदारी गर्न एवं बौद्धिक र कुटनीतिक तहबाट समस्याको दीर्घकालीन समाधानमा आ–आफ्नो स्थानबाट दवाव र रचनात्मक भूमिकाका लागि सम्पूर्ण वामपन्थी, देशभक्त एवं प्रजातान्त्रिक बुद्धिजीवीहरूमा हार्दिक आव्हान गर्दछौं।




लोकपाटी न्यूज

