१० वर्षभित्र देश विकासको नयाँ चरणमा पुग्छ : प्रचण्ड

prachanda-2
लाेकपाटी न्यूज

चितवन, २४ माघ । माडीका बरिष्ठ सामाजिक अगुवा एवं वामपन्थी नेता भुवानी प्रसाद पौडेलको निधनले पार्टीलाई अपूर्ण क्षति पुगेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

बिहीबार पौडेलको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै दाहालले आफ्नो र भुवानी पौडेलको परिवारसँग धेरै लामो समयदेखिको राम्रो सम्बन्ध रहेको बताए । ‘भुवानीप्रसाद पौडेलबाट हामीले राम्रो कामको प्रेरणा अनुसरण गर्नुपर्छ,’ उनले भने, ‘पौडेलले समाजवाद र समृद्धिको यात्रा तय गर्न महत्वपूर्ण योगदान दिनुभएको छ ।’

संगठनमा रहेर पौडेलले आफ्नो सम्पूर्ण योगदान दिएको बताउँदै प्रचण्डले भुवानी पौडेलको परिवारले जस्तै हरेक परिवार प्रगतिशील बाटोमा लाग्नुपर्ने विचार व्यक्त गरे । पौडेलको मृत्यु पश्चात गरिएको काजक्रियाले सम्पूर्ण देशलाई नया संदेश दिएको बताउँदै उनले भने, ‘नयाँ सोचले देश विकास गर्न सजिलो हुन्छ । तपाईहरुको विचार प्रसंशायोग्य रहेको छ ।’

फरक प्रसङ्गमा उनले दश वर्षभित्र देशको विकास नयाँ चरणमा जाने बताए । ‘अब दश वर्षभित्र देशको विकास नयाँ चरणमा पुग्छ,’ उनले भने, ‘देशले लामो समयको युगन्तकारी परिर्वतन गरिसकेको छ । यो सबै परिवर्तनकारी योद्धाहरुको योगदान हो ।’

अध्यक्ष प्रचण्डले नयाँ पुस्ताको लागि धेरै वर्ष पछाडिलाई हुने नयाँ सिस्टम बनाउने भइसकेको बताए । केही वर्षको बीचमा देशमा भएको परिवर्तनले यो अवस्थासम्म आइपुगेको उनको भनाइ छ ।

श्रद्धाञ्जली सभामा बोल्दै नेकपाका प्रदेश ३ का अध्यक्ष नारायण प्रसाद दाहालले पौडेलको निधनले पार्टीमा अतुलनीय क्षति पुगेको बताए । छोरा संदेश पौडेलले शोक मन्तव्य राखेको सभामा माडी नगरपालिकासँगै भरतपुर महानगर प्रमूख रेनु दाहाल, प्रदेश सांसद रामलाल महतो, बुद्धिजीवी प्रेम रिमाललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्