बुटवल। लुम्बिनी प्रदेश प्रमुखका रुपमा अमिक शेरचनले शुक्रबार पदभार ग्रहण गरेका छन्। नयाँ प्रदेश प्रमुखको स्वागतलाई भने शंकर पोखरेल नेतृत्वको सरकारले बहिष्कार गरेको छ। धर्मनाथ यादवको विदाइमा भने मुख्यमन्त्री पोखरेल आफैँ सहभागी भएका थिए।
बुटवलमा प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्दा शेरचनको स्वागतमा प्रदेश सरकारका कोही पनि मन्त्री पुगेनन्। यसअघि धर्मनाथ यादव प्रदेश प्रमुख भएर आउँदा तत्कालीन आन्तरिक मामिला तथा योजना मन्त्री कूलप्रसाद केसी पदभार ग्रहणमा पुगेका थिए।
लुम्बिनी सरकारका पूर्वमन्त्री सुदर्शन बरालले सामान्य शिष्टाचारको हिसाबले पनि प्रदेश सरकारको उपस्थित हुनुपर्ने चलन रहेको बताए। लुम्बिनी सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने आफूहरु अहिले बैठकमा रहेको बताए।
प्रदेश प्रमुखको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले भने मुख्यमन्त्री कार्यालयका सचिवलाई नै भेटेर नयाँ प्रदेश प्रमुख आउने जानकारी गराएका थिए। मुख्यमन्त्री कार्यालयका सचिव खगेन्द्र सुवेदीलाई भेटेर प्रदेश प्रमुखको कार्यक्रमबारे जानकारी गराइएको थियो।
मंगलबार संघीय सरकारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो। शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन्। २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो। केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी धर्मनाथ यादवलाई नियुक्त गरेको थियो।



लोकपाटी न्यूज

