काठमाडौं। जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा नयाँ रिट दायर गरेका छन्।
गत साउन ११ गते जसपामा भएको हेडकाउन्टपछि निर्वाचन आयोगले बहुमतका आधारमा उपेन्द्र यादवलाई पार्टीको आधिकारिकता दिएको थियो।
आयोगको उक्त निर्णयको खारेजीको माग गर्दै ठाकुर पक्षले आज सर्वोच्चमा रिट दायर गरेको हो। निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने ठाकुरको निवेदनमा उल्लेख छ।
रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारीको माग गरेका छन्।
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को साउन ११ गते आधिकारिकता दिएको थियो। आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले आधिकारिकता यादव पक्षलाई दिएको हो। रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ।
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/07/mahantha-writ-pdf.pdf”]



लोकपाटी न्यूज

