चितवन, २४ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयलाका विषयमा पार्टीले जारी गरेको वक्तव्य नै आधिकारिक भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले बिहीबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पारेका हुन् । उनले एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको बताउँदै भने, ‘परराष्ट्र मन्त्रालयबाट जो स्टेटमेन्ट जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटमा नै आयो ।’
उनले मङ्गलबार प्रधानमन्त्रीसमेतको सचिवालयको बैठक बसेर पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरू कुराको अर्थ केही नलाग्ने बताए । उनले पार्टी र परराष्ट्र मन्त्रालयबाट पनि स्पष्ट पारिसकेको उल्लेख गरे । आफूले विज्ञप्ति जारी गरिसकेपछि केही मिडियामा फसाइयो भनेर आएपछि पुनः स्पष्टसमेत पारिएको उनले बताए ।
एक फरक प्रसङ्गमा प्रचण्डले प्रधानमन्त्री र परराष्ट्रमन्त्री देशबाहिर भएका बेला विभिन्न देशका राजदूतहरुले शान्ति प्रक्रियाका विषयमा जारी गरेको विज्ञप्तिलाई नेपालको मामिलामाथिको चासो अनावश्यक भएको टिप्पणी गरे ।
उनले सरकराले लगातार गति लिन थालेको बताउँदै भने, ‘तपाईं हेर्दै जानुस् केही समयपछि अझै तीव्रता पाउँछ ।’ पत्रकारको अर्को एक प्रश्नमा दाहालले सकेसम्म यही महिनाभित्र नभए फागुनको पहिलो साताभित्र पार्टीको तल्लो तहसम्म एकता भइसक्ने बताए ।



लाेकपाटी न्यूज

