काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिएको छ। एमालेको माधव नेपाल पक्षसमेत सहभागी बैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको हो।
बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशनसमेत दिएको छ। आजै माधव नेपालसहित शीर्ष नेताहरू पुनः छलफल गर्ने र सरकार सञ्चालनका विषयमा सहमति गरिने बताइएको छ।
सत्तारुढ गठबन्धनको बैठकमा अन्य पाँच प्रदेशका प्रदेश प्रमुख पनि हटाउने सहमति भएको छ। तर, कसलाई नियुक्त गरिने भन्ने बारेमा राजनीतिक नियुक्तिको साझा मापदण्ड बनाउनेबारे छलफल भएको जसपा नेता अशोक राईले बताए। आजको बैठकमा माधव नेपाल सहभागी नभए पनि उनले डा. विजय पौडेललाई आफ्नो प्रतिनिधिका रूपमा पठाएका थिए।



लोकपाटी न्यूज

