बालुवाटारमा पाँच दलको बैठक, को-को छन् सहभागी ?

Gathabandan_Meeting
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। बैठकमा मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल भइरहेको बुझिएको छ। बैठकमा गठबन्धनका शीर्ष नेताहरूको सहभागिता रहेको छ।

काँग्रेसबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला सहभागी छन्। त्यस्तै, माओवादी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई सहभागी छन्।

बैठकमा एमालेको माधव नेपाल समूहका डा. विजय पौडेल सहभागी छन् भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका सबै शीर्ष नेतासँग मन्त्रिमण्डल विस्तार गर्न आन्तरिक गृहकार्य अगाडि बढाएको देखिन्छ।

जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएसँगै मन्त्रिमण्डल विस्तारको गृहकार्य तीव्र बनेको छ। तर नेपाल समूहलाई समावेश गरेर मन्त्रिमण्डललाई पूर्णता दिनुपर्नेमा जोड गरिरहे पनि नेपाल समूहले अझै कुनै निर्णय दिन सकेको छैन।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन्। गठबन्धनमा आबद्ध दलहरूले नेपाल समूहलाई समावेश गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन जोड दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्