पुर्ख्यौली घरप्रति युवाको आकर्षण

House01
लाेकपाटी न्यूज

पश्चिम नवलपरासी । आफ्ना पुर्खाहरु कस्तो घरमा बसेका थिए ? कसरी वासस्थानलाई व्यवस्थित गरेको थिए भन्ने जिज्ञासा जो कोहीमा हुन सक्छ । सानैमा शहरमा जन्मेकाहरुलाई आफ्नो पुर्ख्यौली घरको बनावटप्रति प्रायः अनभिज्ञ हुनु र शहरका ठूलाठूला भवनमा जन्मे हुर्केकालाई आफ्नो पुर्खाहरु बसेको घर देख्दा अनौठो लाग्छ । पछिल्लो समयमा आधुनिक सुविधा सम्पन्न घरहरु निर्माण हुन थालेपछि मौलिकता झल्किने पुर्ख्यौली घरहरू पनि लोप हुने अवस्थामा रहेका छन् ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका– १३ बडेरामा जारी प्रथम औद्योगिक व्यापार मेला तथा लोक सांस्कृतिक पर्यटन महोत्सवमा भने यिनै पुर्ख्यौली घर दर्शकको आकर्षण बनेका छन् । उद्योग वाणिज्य सङ्घ सुनवल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको संयुक्त आयोजनामा सञ्चालित महोत्सवमा नेवार, थारू, मगर, कुमाललगायत आदिवासी जनजातिहरूको परम्परागत घरहरू प्रदर्शनमा राखिएको छ ।

मौलिक घरहरुमा फोटो लिन व्यस्त अहिलेका युवा आफ्ना बाउबाजेको पालाका घरहरु देख्दा आफूहरुलाई अनौठो र खुशट्ठ लागेको बताउँछन् ।

कुमाल समुदायको परम्परागत घरहरू लगायत विभिन्न जातजातिहरुको मौलिक घरहरु विस्थापित हुँदै गइरहेको अवस्थामा यस्ता किसिमका घरहरुको प्रर्दशनीले अहिलेका युवा पिढीँमा संरक्षण गर्नुपर्छ भन्ने चेत आएको कुमाल समाजका केन्द्रीय कोषाध्यक्ष दशरथ कुमालले बताए ।

पछिल्लो समयमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गइरहँदा लोक संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यका मौलिक घरहरु प्रदर्शनीमा राखेको आयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्याको भनाइ छ । त्यस्तै नेपाली लोक संस्कृति र मौलिकता झल्कने घर, खानाका परिकार, लोक संस्कृति, मौलिक भेषभुषाको संरक्षणका लागि महोत्सव लाई केन्द्रित गरेको राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नवलपरासीका अध्यक्ष भरत क्षेत्री बताउँछन् ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नवलपरासी र उद्योग वाणिज्य संघ नवलपरासीको संयुक्त आयोजनामा सञ्चालित महोत्सवमा नेपालीको मौलिकपना झल्कने परम्परागत घर, जातीय भेषभुषा, खानाका परिकारलाई उच्च प्राथमिकता दिइनु आफैंमा सान्दर्भिकता रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्