ओली र राष्ट्रपतिबीच के विषयमा भयो छलफल ?

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। उनीहरुबीच झण्डै २ घण्टा संवाद भएको बताइएको छ। उनीहरुबीच के कुरा भयो भन्ने खुलेको छैन।

यद्यपि एमाले केन्द्रीय समिति बैठकमा उठेका केही सन्दर्भ र आंशकाहरूबारे छलफल भएको हुन सक्ने अनुमान गरिएको छ। एमाले अध्यक्ष ओली राष्ट्रपति भण्डारी साढे ११ बजे शीतल निवास पुगेको स्रोतले जनाएको छ। उनीहरुबीच साढे १ बजेसम्मको संवाद भएको थियो।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको यो भेटलाई महत्वका साथ हेरिएको छ। राष्ट्रपतिमाथि लाग्ने सक्ने महाअभियोग, राजनीतिक दलसम्बन्धी अध्यादेश र एमाले एकताको रोडम्यापकै विषयमा भण्डारी-ओलीबीच छलफल भएको स्रोतको भनाइ छ। एमालेभित्र दुई वटा विषयमा आंशका जन्मिएका छन्।

एक, सत्तापक्ष राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउने तयारी छ। दोस्रो, एमाले विभाजन गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश आउँदै छ। यी दुवै विषयमा ओलीले केन्द्रीय समितिको बैठकमा संकेत गरेका थिए। एमालेका ओली पक्षका केही सांसद वरिष्ठ नेता माधव नेपालको पक्षमा खुल्ने आंशका भइरहेको थियो। करिब १० जनाजति नेपाल पक्षमा सांसद थपिए सत्ता पक्षलाई दुईतिहाइ मत पुग्न सक्छ।

सत्ता पक्षले दुईतिहाइ मत पुर्‍याएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन सक्छन् भनेर एमालेमा चर्चा भइरहेको थियो। अर्को चर्चा एमाले विभाजनका लागि ८ साउनपछि संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन सक्छन्। त्यो अध्यादेशले जसपा र एमाले दुवैको विवाद किनारा लगाउने सक्छ। जस्तो जसपामा महन्थ ठाकुर पक्ष वर्तमान कानुन अनुसार दल विभाजन गर्न सक्दैन्, त्यही हालत माधव नेपाललाई पनि छ।

त्यसैले दुवैलाई काम लाग्ने गरी अध्यादेश ल्याउन सक्छन् भन्ने एमालेलेको अनुमान छ। त्यही त्रासको अभिव्यक्ति संसदमा नेम्वाङले पोखेको थिए। भण्डारी-ओली संवाद सकिएको आधा घण्टामै नेम्वाङले सदनमा भनेका थिए- संसद बन्द गरेर अध्यादेश नआओस्।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको अवस्थामा राष्ट्रपतिले प्रमाणिकरण नगर्न पनि सक्छिन्। अध्ययन हुँदैछ भनेर केही महिना अलमल्याउन सक्ने अवस्था हुन्छ। तर, त्यो राष्ट्रपति स्वयंका लागि अप्रिय निर्णय हुन्छ र थप बदनामी कमाउने अस्त्र भइदिन्छ। त्यस्तो अवस्थामा सत्तापक्षबाट अध्यादेश प्रमाणिकरण नगरे महाअभियोग लगाउने त्रास राष्ट्रपतिमाथि हुनसक्छ। त्यसैले, यतिबेला राष्ट्रपति भण्डारी स्वयं अप्ठ्यारो अवस्थामा देखिन्छ।

एमाले र राष्ट्रपति दुवै अप्ठ्यारो स्थितिमा पुगेका बेला भण्डारी र ओलीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। त्यसबाहेक एमालेको एकताका लागि सम्भावित रोडम्यापको विषयमा पनि भण्डारी-ओली छलफल भएको अनुमान गरिएको छ। ओली पक्षका दोस्रो तहका केही नेताहरू माधव नेपाललाई दोस्रो अध्यक्ष दिएर भएपनि एकता गर्नुपर्ने पक्षमा छन्। तर, ओली त्यो पक्षमा छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्