काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको छ। अघिल्लो सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल गर्न उनी बालुवाटार पुगेका हुन्। विप्लवले आफ्ना नेता कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गरेर रिहा गर्नुपर्ने माग उठाउँदै आएका छन्।
भेटमा सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाण सहभागी थिए भने नेकपाबाट विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पछिल्लोपटक विप्लवले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्।
यसअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, माधवकुमार नेपाललाई भेटेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सम्झौता गरेर विप्लव नेतृत्वको नेकपा ‘भूमिगत’ गतिविधि त्यागेर ‘खुला’ राजनीतिमा आएको थियो।



लोकपाटी न्यूज

