काठमाडौं। प्रदेश नम्बर-२ मा नेकपा (माओवादी केन्द्र)बाट दुई जना मन्त्रीले शपथ लिएका छन्। शनिवार प्रदेश प्रमुख डा राजेश झा अहिराजले भरत साह आन्तरिक मामिला तथा सञ्चारमन्त्रीमा र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा शपथ खुवाएका हुन्।
मन्त्री साहले कसैको नाम नलिई शपथ खाए भने राज्यमन्त्री कर्णले सहिदको नाममा शपथ लिइन्। मातृभाषामा शपथग्रहण गर्न इच्छा देखाए पनि कानुनी जटिलताका कारण नेपाली भाषामै शपथ लिएका थिए। साह महोत्तरी क्षेत्र नम्बर १(१) बाट निर्वाचित सांसद हुन्। त्यस्तै कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन्।
माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दलकै दुई जना मन्त्रीले राजीनामा दिएका थिए। आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले शुक्रवार राजीनामा बुझाएका हुन्। शनिबारै मुख्यमन्त्री लालबाबु राउतले उनीहरूको राजीनामा स्वीकृत गरेका थिए।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गएको जेठ २६ गते नेपाली काँग्रेसलाई सरकारमा सहभागी गराइएको थियो। सोही दिन माओवादी केन्द्रलाई पनि सहभागी गराउने प्रयत्न गरिएको थियो। तर, मन्त्रालय बाँडफाँडमा कुरा मिलेको थिएन।



लोकपाटी न्यूज

