काठमाडौं। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो देशबाट उत्पादित जलऊर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने बताएकी छन्।
विद्युत् विकास विभागको २८औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो विकल्पको रूपमा जलऊर्जा भएको बताइन्। यस्तै, निजी क्षेत्रले बनाउने जलविद्युत लगायतको संरचनाबाट सरकार र स्थानीय जनताले निरन्तर रूपमा लाभ लिन सक्ने खालको बनाउन पनि आवश्यक रहेको बताइन्।
उनले भनिन्, ‘सिंगो देशको विद्युतीकरण गर्ने कुरा लाइटको रूपमा मात्रै नभएर आफ्नै देशको स्रोतबाट उत्पादन भएको ऊर्जालाई सम्पूर्ण ऊर्जाको क्षेत्रमा प्रयोग गर्ने र डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनीकरण गर्न सक्नुपर्छ।’
यस्तै निजी क्षेत्रले एउटा निश्चित समयसम्म चलाउने सर्तमा निर्माण गरेपछि त्यतिका लागि मात्र भौतिक संरचना बन्नु नहुने बताइन्। त्यस्ता संरचनाबाट सरकार र स्थानीय जनताले दीर्घकालसम्म लाभ लिन सक्ने संरचना बनाउन जोड दिनुपर्ने उनले बताइन्।
यो क्षेत्र अरू क्षेत्रको लगानीभन्दा सुरक्षित भएको बताउँदै मन्त्री भुसालले छिटो र स्थायित्वका लागि विशेष ध्यान दिनसमेत अनुरोध गरेकी छन्। कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादक संघ इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले राज्यले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी आएको बताए।



लोकपाटी न्यूज

